गाेरखा- गाेरखामा गत बर्षको तुलनामा यस बर्ष जिल्लामा ३० प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ ।
गत आर्थिक बर्ष २०७४/७५ मा पाँच हजार पाँच सय चार मेट्रिक टन उत्पादन भएकोमा चालु आर्थिक बर्ष २०७५/७६ मा सात हजार ६ मेटिूक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘गत बर्ष ८ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेति भएको थियो र उत्पादकत्व ६.४ मेट्रिक टन प्रति हेक्टर रहेको थियो,’ केन्द्रका प्रमुख दुर्गा प्रसाद पण्डितले भने, ‘यस बर्ष ८ सय ६५ हेक्टर क्षेत्रफलमा खेति भएकोमा उत्पादकत्व प्रति हेक्टर ८.१ मेटिूक टन रह्याे ।’
यस बर्ष कुल ३८ करोड ५३ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको पण्डितले बताए । सुन्तला उत्पादनमा बृद्धि भएको स्वयम किसानहरुले स्विकारगरेका छन् । राम्रो बर्षा भएकाले यो बर्ष उत्पादनमा बृद्धि भएको उनीहरुको भनाइ छ ।
मनकामना, ताक्लुङ, ताङलीचोक, फुजेल, मकैसिङ, घैरुङ, नारेश्वर, फिनाम लगायतका क्षेत्रलाइ सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कतिपय किसानको सुन्तला खेति नै जिविकोपार्जनको मुख्य स्रोत बन्दै आएको छ ।
जिल्लामा उत्पादन हुने सुन्तला तनहू, चितवन, काठमाडौ लगायतका ठाउँमा बिक्री हुने गर्छ । उत्पादन मध्यको ३० प्रतिशत जिल्लामा खपत हुने र बाकी ७० प्रतिशत अन्य जिल्लामा बिक्री हुने केन्द्रका प्रमुख पण्डितले बताए ।
वगैचा सुदृढिकरणका लागी आठ लाख
सुन्तला बगैचा सुदृढिकरणका लागी चालु आर्थिक बर्ष कृषि ज्ञान केन्द्रमा आठ लाख रकम निकासा भएको छ । ससर्त अनुदान कार्यक्रम अन्तरगत संघबाट उक्त रकम प्राप्त भएको केन्द्रका प्रमुख पण्डितले बताए ।
उक्त रकमबाट सुन्तला वगैचा सुदृढिकरण कार्यक्रम संचालन गरिने उनको भनाइ छ । ‘बार्षिक दश प्रतिशतले बोटहरु मर्न थालेका छन्, वगैचाको अवस्था हेरेर आवश्यक पर्ने खाद्य तत्व दिन सहयोग गर्छाै,’ उनले भने । त्यस्तै बोडो मिक्चर छरेर वगैचा सुदृढिकरण गर्न सहयोग गर्ने उनले बताए ।
‘बोडो मिक्चरमा क्याल्सियम र कपर हुन्छ, यसले जरा र फेद कुहिने रोगबाट बचाउँछ र बोटलाइ चाहिने आवश्यक खानेकुरा पनि उपलब्ध गराउछ,’ उनले भने ।
सिंचाइ सुविधा सँगै वगैचा सुदृढिकरण नहुँदा बोट मर्ने गरेको उनको भनाइ छ । गोरखाको मनकामनामा उत्पादित सुन्तला रसिलो र स्वादिलो भएका कारण देशभर लोकप्रिय छ । मनकामना क्षेत्रमा मात्रै यस पटक गत बर्ष भन्दा दोव्वरले उत्पादन बढेको छ।
मनकामना भन्दै बिक्री
गोरखा मनकामनाको सुन्तला जिल्लामा मात्र नभई नेपालभर नै प्रख्यात छ। मनकामनाका सुन्तला ठूलो र गुलियो हुने भएकाले यो सुन्तलाले प्रख्याति पाएको किसान बताउँछन्।
मनकामनाको सुन्तला भनेपछि सजिलै बिक्री हुने हुँदा व्यापारीले अन्यत्र फलेका सुन्तलालाई मनकामनाको भन्दै बिक्री गर्ने गरेका छन्। तर मनकामना क्षेत्रमै बर्सेनि सुन्तला उत्पादनमा गिरावट आएको छ।
सुन्तलाको बोट टुप्पोबाट मर्ने समस्याले किसान हैरान भइसकेका छन्। २० वर्षदेखि सुन्तला खेती गर्दै आएका मनकामनाका किसानहरु सुन्तला उत्पादन घट्दै गएकामा निराश भएका छन्।