गाेरखा- सेवाग्राहीले दुःख पाएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आफु मातहतका विभिन्न शाखा र वडा कार्यालयका कर्मचारीलाई कार्यालय नछाड्न र कुनैपनि कार्यक्रमहरुमा सहभागी नहुन निर्देशन दिएको छ ।
सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब बहादुर गुरुङद्वारा जारी पत्रमा भनिएको छ– ‘कर्मचारीहरु विभिन्न कार्यक्रममा सहभागी भएकाले कार्यालयबाट प्रवाह हुने सेवाहरु समयमा सम्पादन हुन नसक्दा सेवाग्राहीले दुःख पाएको भनि गुनासो सुन्न आएकाले कर्मचारीहरु आफ्नो कार्यालय छोडी यस कार्यालयको अनुमति बिना कुनै कार्यक्रममा सहभागी नहुन सबै कर्मचारीलाई आग्रह गरिएको छ ।’
गाउँपालिकाले आफ्नो सेवा क्षेत्र भित्रका सबै संघसँस्थाहरु, विद्यालय, स्वास्थ्यचौकी लगायतलाई पनि त्यस्ता कार्यलयहरुले आयोजना गर्ने कुनैपनि किसिमका कार्यक्रमहरुमा आफुखुसी कर्मचारीलाई सहभागी गराएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
पछिल्लो समय कर्मचारीहरु कार्यालयको कामछाडी आफुखुसी विभिन्न कार्यक्रमहरुमा सहभागी भएको व्यापक जनगुनासो आएपछि गाउँपालिकाको यस्तो निर्देशन आएको हो ।