गाेरखा- पालुङटार नगरपालिका–५ माझटारमा प्रथम पालुङटार लिगलिग महोत्सव २०७५ हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघ पालुङटार बजार इकाइको आयोजनामा महोत्सव हुन लागेको हो ।
स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवद्र्धनका लागी महोत्सव गर्न लागिएको बिहीवार पालुङटारमा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।
महोत्सवमा ‘पालुङटार सिङगिङ एण्ड डान्सिङ स्टार’, औद्योगिक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, सांस्कृतिक भेषभुषा प्रर्दशनी सँगै विविध हास्यव्यग्य र मनोरन्जनात्मक कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
‘महोत्सव अवधिभर प्याराग्लाइडिङ गराउने तयारी पनि गरिरहेका छौ,’ इकाइका अध्यक्ष आशिष देवकोटाले भने, ‘नगरक्षेत्रका वडाहरु बिच आत्मिय सदभाव बढाउन वडा स्तरिय डोरी तान्ने प्रतियोगीता पनि राखेका छौ ।’ महोत्सवका गर्नका लागी करिव ३५ लाख रकम लाग्ने अनुमान आयोजकले गरेको छ ।
महोत्सवमा करिव डेढ सय स्टल रहनेछन् । फागुन १२ गते सम्म चल्ने महोत्सवको करिव ४५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव स्थल प्रवेशका लागी सर्वसाधारणलाइ ५० र बिद्यार्थीका लागी ३० रुपैया लाग्ने आयोजकले बताएको छ । बृद्धबृद्धाको हकमा भने शुल्क तिर्नुनपर्ने इकाइका अध्यक्ष देवकोटाले बताए ।
महोत्सवबाट बचेको रकमले पालुङटार नगर क्षेत्रमा अत्यावश्यक बहुउदेश्यीय सभा हल निर्माणको थालनी गर्ने आयोजकको योजना छ । सँगै नगर क्षेत्र भित्रका उद्योग व्यापार व्यवसाय प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने र पर्यटन सम्बन्धि बिभिन्न कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवको गोरखा सँगै तनहू, लम्जुङ्ग र मनाङका दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवबाट नगर क्षेत्र भित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्र सँगै विविध संस्कृतिहरुको प्रचार प्रसार गरी स्थानीय र नीजि क्षेत्रको सम्बन्ध बिस्तार हुने अपेक्षा गरिएको छ ।