काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखकाली टायर उद्योग पुनः सञ्चालनमा ल्याउने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले उद्योगको तिर्न बाँकी अर्बौं बक्यौता तिरेर उद्योग सञ्चालन गर्ने बताएका हुन् ।
टायर उद्योग कर्मचारीलाई तलब नै खुवाउन नसक्ने भएपछि तीन वर्षदेखि बन्द थियो ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्योग सञ्चालनको निर्णय गरेको उको भनाइ थियो । “विगतको अव्यवस्थालाई व्यवस्थामा बदल्दैछौँ,” उनले भने ।
नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो ।
संचित नोक्सानी १ अर्ब ५० करोड नाघ्यो
२०४१ सालमा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड नाघेको उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौला बताउँछन् । उद्योग चलाउनको लागि चालू पुजीको अभाब छ उनले भने “५र७ दिनलाई पुग्ने कच्चा पदार्थ त छ, तर उद्योग संचालन हुने वातावरण नै छैन।” स्थापनाकालमा करिब ३० करोड रुपैयाँ लगानी रहेको सो उद्योगले कर्मचारीलाई नियमित तलब खुवाउन मात्रै वार्षिक १२ करोड खर्च लाग्ने उनले बताए ।
किन बन्द भयो उद्योग ?
चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्र्को ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो । बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ । टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो ।
कर्मचारीको इच्छा स्वेच्छिक अवकासमा
उद्योग पुर्ण रुपमा बन्द अवस्थामा पुगेपछि कार्यरत सबै कर्मचारीहरुले स्वेच्छिक अवकास माग गरी निवेदन दिएको बतौला बताउँछन् । तलब पनि नपाउने काम पनि नहुने भन्दै कर्मचारीले स्वेच्छिक अवकासमा जान इच्छा देखाएका छन् बतौलाले भने ‘यस्तो अवस्थामा उद्योग पुन संचानमा आउने अवस्था नै छैन।’