काठमाडाैं- नेपाल आयल निगमले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि २७ अर्ब राजश्व संकलन गरिसकेको जानकारी गराएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अहिलेसम्म २७ अर्बको राजश्व संकलन गरिएको जानकारी दिए ।
सरकारले बूढीगण्डकी आफ्नै श्रोतबाट बढाउने अभियानसहित आर्थिक वर्ष २०७२/०७३ बाट पेट्रोलियम पदार्थको कर संकलन गर्दै आएको छ। एक लिटर पेटूोलबाट पाँच रुपैयाँ आयोजना निर्माणको लागि कर संकलन गरिएको छ ।
जसअनुसार अघिल्ला दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा आयल निगमले २७ अर्ब रुपैयाँ राजश्व संकलन गरेको हो ।
१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनका कारण गोरखा र धादिङका साविकका २७ गाविस प्रभावित हुन्छन् । अन्य ठाउँको मुआब्जा निर्धारण भएर वितरण भइसक्दा पनि गोरखाको आरूघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरेको मुआब्जा निर्धारण हुन सकेको छैन ।
मुआब्जा निर्धारणका लागी दुबै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर अनुसार आयोजना निर्माणका लागि दुई खर्ब ५५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजना बनेपछि १५ वर्षसम्म वार्षिक ६२ करोड २७ लाख रुपियाँ राजस्व आम्दानी हुने र पछिल्ला वर्षमा वार्षिक रूपमा तीन अर्ब ७१ करोड रुपियाँभन्दा बढी राजस्व आम्दानी हुने अपेक्षा राखिएको छ ।