गाेरखा– पालुङटार नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले सोमबार वडा नं. ७ मा रहेको जिवन ज्योति माध्यमिक विद्यालयको सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवार्इ कार्यक्रममा बाेल्ने अधिकांश नेताहरूले नगरप्रमुख र नगरपालिका माथी हमाला गरेका छन् । नगरपालिकामा एउटा पनि एम्बुलेन्स नभएकाे भन्दै नयाँ शक्तिका नेता अशाेक देवकाेटाले नगरप्रमुख दिपक बाबु कंडेलल ५० लाखकाे गाडी किन्दा एउटा एम्बुलेन्स किन्न किन नसकिएकाे भन्दै प्रश्न गरे।
कसले के भन्याे
पालुङटारको बिकास गर्न जस्तो सुकै परिस्थितिको सामना गर्न तयार – नगरप्रमुख कडेल
नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरु सहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कडेलले पालुङटारको बिकास गर्न र पालुङटार बनाउनका लागि आफु जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए ।
उनले गुनासोहरु कै समबोधन गर्ने क्रममा जनजिबिकाको सवाल र विकास निर्माणको काममा सबै संग हातेमालो गर्न आफु तयार रहेको बताए । उनले आफुहरुको केहि कमी कम्जोरी भए सच्याएर अघि बढ्न जनप्रतिनिधिहरु तयार रहेको बताए ।
पालुङटार नगरपालिकाको कुनै पनि गतिविधि गोप्य नभएको भन्दै नगपालिकाको हरेक गतिबिधि वेभसाईडमा हेर्न सकिने बताउदै उनले नगरपालिकाले बनाएको गुरु योजना छिट्टै बाहिर आउने भन्दै पालुङटार नगरपालिका वडा नं. ५ को रानीटारमा बसपार्कको निमार्ण गर्ने र वडा नं. ९ मा कोल्ड स्टोर निर्माण गर्ने नगरपालिकाको ठुलो योजना रहेकाे दावी गरे ।
लक्ष्य अनुसार राजस्व उठाउन सफल – उपप्रमुख बसेल
पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले मंसिर २६ गते सम्म न्ययिक समितिले ५१ वटा उजुरीहरुको मेलमिलाप मार्फत समस्या समाधान गरेको बताइन । नगपालिकाको न्यायिक समितिमा अहिले पनि २० वटा उजुरीहरु छलफलको चरणमा रहेको छ।
नगरपालिकाले आम जनतालाई राजस्व प्रति उत्तरदाई बनाएकोले लक्ष्य अनुसार राजस्व उठाउन सफल भएको उनले दावी गरिन् । राज्यका अन्य स्थानिय तहमा चर्चा भए अनुसार नगरपालिकाले कर नबढाएर करको दायरा मात्र बढाएकोउनकाे भनाइ थियाे ।
दिगो बिकासको आधार तयार पार्नु पर्छ – कडेल
नेपाल कम्युनिष्ट पार्टीका नेता खोप बहादुर कडेलले हजारौं व्यक्तिहरुको बलिदानीबाट अहिलेको परिवर्तन आएको बताए । उनले विकास भनेको जहाँ तहिँका पहाड खनेर धुलो उँडानु मात्र नभएको भन्दै दिगो बिकासको आधार तयार पार्नु पर्नेमा जोड दिए । ‘साउनमा बजेट ल्याउने र असार लागे पछि काम सुरु गर्ने हो भने अब बिकासको काम नगरे हुन्छ’ उनले भने ‘यस्तो कामले बर्खामा हिलो र हिउँदमा धुलो बाहेक अरु केहि नहुने’ बताए ।

जनताको सहभागिता बिना विकास सम्भव नभएको भन्दै उनले बिकासको काममा सबै जनप्रतिनिधिहरु एक जुट भए राजनीतिक दलहरु सहयोग गर्न तयार रहेको बताए।
जनप्रतिनिधिहरु नेपालमा क्रियासिल राजनीतिक दलका सन्तान भएको भन्दै जनप्रतिनिधिहरुले राजनीतिक दललाई लुकाएर कती दिन सम्म भाग्छौ भन्दै जनप्रतिनिधिहरु समक्ष प्रश्न गरे । ‘तपाईहरु दलहरु संग कतिबेला सम्म डराउनु हुन्छ ? हामी तपाईहरुलाई दाउने पक्षमा छैनौ’ उनले भने ।
जनप्रतिनिधिहरुमा घमन्ड बढ्दै गयाे – ढकाल
नेपाली काग्रेसका स्थानिय नेता बिमल ढकालले नगरपालिकाले कम्तीमा पनि प्रत्येक वडा कार्यालयबाट नगरपालिकाको कार्यालय सम्म हिउँद र बर्खामा नै आवत जावत गर्न सक्ने बाटो बनाउनु नगरपालिकाकाे ध्यान अार्कषण गरे । उनले जनप्रतिनिधिहरुमा घमन्ड बढ्दै गएको भन्दै जनप्रतिनिधिहरुले आफुहरु चन्द्रमाबाट आउको मान्छे भनेर सोच्न नहुने र कर्मचारीले पनि आफुलाई स्थाई सरकारको रुपमा बुझ्न नहुने तर्फ जोड दिए ।
नगरप्रमुख ५० लाखकाे गाडी चढ्दा नगरपालिकामा एउटा एम्बुलेन्स छैन् – देवकाेटा

नगरपालिकाले नगरपालिकाको कुनै पनि क्रियाकलापमा राजनीतिक पार्टीलाई उपेक्षा गर्ने गरिएको नयाँ शक्ति पार्टीका नेता अशाेक देवकाेटाले अाराेप लगाए । उनले नगरपालिकाले नगरपरिसद बन्द कोठा भित्र बसेर गर्नुको कारण के हो ? भन्दै नगर प्रमुखको धारणा माग गरे।
उनले पालुङटार नगरप्रमुखले पचासौ लाखको गाडी चड्दा नगपालिकाले एउटा एम्बुलेन्स सम्म खरिद गर्न किन नसकेको भन्दै जनता विरामी हुँदा उपचार नपाउने अवस्थाको सृजना भएको बताए । देबकोटाले निर्वाचन भएको दुई वर्ष वितिसक्दा सम्म नगर बिकास गुरु योजना नआएको भन्दै नगरपालिकाको ठुलो याजना के हो ? भन्ने प्रश्न नगर प्रमुखलार्इ कटाक्ष गरे ।