गाेरखा- उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपातभएकाे हाे ।
‘छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ’, जिल्ला प्रहरी कार्यालय गाेरखाका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएपी) महेन्द्र नेपालले भने ‘चिसोका कारण स्थानीयवासी घरबाट बाहिर निस्कनसमेत सकेका छैनन । गए रातिदेखि परेको हिमपात अहिले पनि जारी रहेको छ ।’

उत्तरी गोरखाका करीब दुई हजार ५०० मिटर उचाइभन्दा माथिका क्षेत्रमा हिमपात भएको हो । हिमपातका उत्तरी गोरखाको अधिकांश क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानीयवासीले बताएका छन् । ‘अत्यधिक हिमपात भएपछि स्थानीय घरभित्र आगो तापेर बस्न बाध्य छन्, बाहिर निस्कन सक्ने अवस्था छैन ।’ चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भने ।
हिउँले मनास्लु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानीयको भनाइ छ । अत्यधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितले भने सास्ती खेप्नुपरेको छ । अघिल्लो वर्षमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भए पनि यस वर्ष ढिलो गरी हिउँ परेको स्थानीयले बताएका छन् ।