गाेरखा- सरकारले गोरखकाली रवर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ। उद्योग मन्त्तालयको प्रस्तावमा मन्त्रिपरिषदले कर्मचारीहरुलाई सुविधासहित बिदा गर्ने निर्णय गरेको हो।
कर्मचारीहरुले पाउनुपर्ने सुविधा लिनुअघि उनीहरुले तिर्नुपर्ने बक्यौता अनिवार्य बुझाउनुपर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्काटोले जानकारी दिए।
२०७१ चैतदेखि बन्द रहेको उक्त उद्योगमा विभिन्न तहमा २ सय ४७ जना कर्मचारी कार्यरत रहेका छन्। उद्योग बन्द रहे पनि कर्मचारीहरु पनि जागिर खाएर मात्र बसिरहेका थिए। यसअघि उद्योग मन्त्तालयले अहिलेका कर्मचारीलाई प्रतिव्यक्त कम्तिमा २५ लाख माथि रुपैयाँको सुविधासहित विदाइ गर्ने प्रस्ताव पठाएको थियो। कर्मचारी विदा गरिए पनि उद्योग बन्द गर्न भने नखोजिएको उद्योग मन्त्रालयले बताउँदै आएको छ।
यसअघि सरकारी स्तरमै भएका अध्ययन कार्यदलले पनि कर्मचारीलाई विदा गरेर उद्योग बन्द गर्ने कि छिटो उद्योग चलाउनुपर्ने सुझाव दिंदै आएका थिए। गत वर्ष उद्योग मन्त्रालयले गठन गरेको एक कार्यदलले सरकारी दायित्व अन्त्य गर्न कर्मचारीलाई अनिवार्य अवकास दिनुपर्ने सुझाव दिएको थियो।
दैनिक ६२४ थान टायार उत्पादन गर्नसक्ने क्षमता राख्ने उद्योगमा सरकारको ३८ प्रतिशत शेयर स्वामित्व रहेको छ। उद्योगले सरकार र वित्तीय संस्थालाई तिर्नुपर्ने ऋण तथा ब्याजको दायित्व पनि अर्ब रुपैयाँ भन्दा माथि रहेको छ।