गोरखा- गण्डकी प्रदेशमा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशका जनताले बिदेशी स्याउ खान नपाउने बताएका छन्। केयर नेपालले जिल्लाकाे सिरानचाेक गाउपालिकाकाे छोप्राकमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले मनाङ, मुस्ताङ, गोरखा लगायतका जिल्लामा स्याउ उत्पादनलाई प्रवर्द्धन गरी पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने बताएका छन् ।
‘पाँच वर्षभित्र गण्डकी प्रदेशलाई स्याउमा आत्मनिर्भर बनाउने योजना हामी बनाएका छौं’, प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने, ‘हाम्रो प्रदेशमा चीन र भारतबाट आएको स्याउ तथा अरु प्रदेशबाट आएको स्याउ नखाने, गण्डकी प्रदेशकै स्याउमा आत्मनिर्भर बनाउने योजना हामीले बनाएका छौं।’
उनले ‘मासु, अन्न र दूधमा आत्मनिर्भर बनाउने बताएका छन । यो योजना पूरा भएमा गण्डकी प्रदेश विदेशी स्याउमुक्त र कृषिमा पुर्ण रुपमा आत्मनिर्भर प्रदेश हुनेछ ।
चोरकाटेदेखि छोप्राकसम्मको ११.४ किलोमिटर सडकलाई कालोपत्रे गर्ने प्रक्रिया सुरु गरेको बताए। यो सडक कालोपत्रे गर्न एक करोड ३६ लाख बजेट परिसकेको छ। बहुवर्षे योजना अन्तर्गत अबको दुई वर्षभित्र यो बाटो पिच हुनेछ।