गोरखा- बारपाक-सुलिकोट गाउँपालिकामा हुने बिभिन्न विकास निर्माण योजनामा स्थानीय बासिन्दाबाट विभिन्न माध्ययमबाट गुनासो आउन थालेपछि स्थानीय युवाहरूले त्यसको अध्ययन गर्न एन्टीभाइरस लीग गठन भएको सूचना प्राप्त भएको छ ।
लीगमा हालसम्म ६ वडाका करीब डेढ दर्जन बढी गैर राजनीतिक युवाहरू संगठित रहेको बुझिएको छ। समाजका सामान्य देखि अति संवेदनशील बिषयमा अध्ययन गर्ने लक्ष्य लिइएको हुनाले लीग अति नै गोप्य रूपमा संचालन भएको बुझिएको छ ।
‘समाजमा चैतन्य रुपान्तरण, विकासमा पारदर्शीता, दलीय आस्थामा शुन्यता’ नारा बोकेको लीग सम्बन्धमा स्रोतबाट प्राप्त जानकारी अनुसार ‘सतहमा असल देखिने तर भित्र भ्रष्ट मति रहेकाहरुबाट जुनकुनै बेला भौतिक आक्रमण हुनसक्ने’ भन्दै आफ्ना सम्पूर्ण सदस्यहरुको व्यक्तिगत परिचय गोप्य राखिएको छ ।
‘समाजमा हुने अनेकन परिघटनाको स्थूल अध्ययन गर्ने हाम्रो लक्ष्य छ’ नाम नबताउने शर्तमा होचा करीब ४० बर्षका देखिने एक सदस्यले अगाडि भने- ‘शान्तिको बाटो शिरोपर गर्छौं, यसबाट स्वच्छ छविका नागरिक, समाजसेवी, कर्मचारी र राजनीतिकर्मी खुशी हुनुपर्छ तर जाली फटाहाहरुको नीदहराम हुन सक्नेछ ।’
लीगका सदस्यहरुबारे स्रोत खुल्न चाहेन । तर २२ देखि ६० बर्ष उमेर बीचका सदस्यहरु समूहमा रहेको र यसबारे पहिलोपटक सूचना सार्वजनिक गरिएको बताइएको छ ।
स्थानीय आयोजनाहरुमा हुने अनियमितता र तत् सम्बन्धि गुनासाका आधारमा लीगका ‘स्क्यानर’हरूले प्रमाण जम्मा पारेर ‘डस्ट सेन्टर’मा जम्मा गर्ने छ भने त्यसलाई ‘फिल्टर’ गरेर ‘जज टिम’ले सम्बन्धित पक्षलाई सचेत गराउने वा सञ्चार माध्यममा सार्वजनिक गर्ने वा अख्तियार अनुसन्धान लगायतका निकायमा ‘फरवार्ड’ गर्ने निर्णय लिने एक एभिएल सदस्यले बताए ।
‘कुनै दल, तिनका भातृसंगठन, गैह्र/सरकारी संघसंस्था, विद्रोही समूह वा व्यक्तिसङ्ग हाम्रो निकटता छैन र हाम्रो कुनै मुक/अमुक सञ्चार माध्यम छैन’ उनले बताए ।
‘कुनै दल, तिनका भातृसंगठन, गैह्र/सरकारी संघसंस्था, विद्रोही समूह वा व्यक्तिसङ्ग हाम्रो निकटता छैन र हाम्रो कुनै मुक/अमुक सञ्चार माध्यम छैन’ उनले बताए ।