गाेरखा- बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ । आयोजनाले मुआब्जा वितरण सुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्थापना एकाईले जनाएकाे छ।
चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको छ । आयोजना प्रमुख कृण्ण कार्कीले मुआब्जा वितरण गर्न बाँकी रहेका डुबान प्रभावितलाई पनि चालु आर्थिक वर्षमै मुआब्जा बितरण गरिसकिने जानकारी दिए ।

उनले चालू आव २०७५/७६ मा प्राप्त १८ अर्बले गोरखा र धादिङका सबै प्रभावितलाई रकम वितरण गरिसकिने जानकारी दिए । ‘मुआब्जा वितरणका लागि रकमको अभाव छैन,’ आयोजना प्रमुख कार्कीले भने, ‘आरुघाट र खहरे क्षेत्रबाहेक मुआब्जा निर्धारण भएका सबै ठाउँका प्रभावितलाई मुआब्जा वितरणको काम सम्पन्न हुन्छ ।’
अहिले प्राप्त रकमले डुबान प्रभावित क्षेत्रका बासिन्दाको घरगोठ र बोटबिरुवाको समेत मुआब्जा वितरण गर्न रकम अभाव नहुने उनले बताए ।
‘जमीनको मुआब्जा वितरण गरिसकिएका डुबान क्षेत्रका बासिन्दाका घरगोठ र बोटबिरुवाको मुआब्जा बाँड्ने तयारी पनि गरिरहेका छौ’, उनले भने, ‘त्यसका लागि प्राप्त रकमले पुग्छ भन्ने हाम्रो अनुमान छ ।’
आयोजनाले मुआब्जा वितरणको काम तीव्र गतिमा अगाडि बढाएको भए पनि प्राविधिक समस्याका कारण केही ढिलाइ भएको उनले बताए ।

‘मालपोत र नापी कार्यालयमा पर्याप्त कर्मचारी छैनन्, यहाँबाट फाइल छिटो अघि बढाए पनि त्यहाँ कामको चापका कारण सोचेजस्तो गतिमा काम अघि बढ्न सकेको छैन’, प्रमुख कार्कीले भने ।
अहिले आयोजनाले गोरखातर्फ साबिकको अश्राङ, बोर्लाङ र धावातर्फका डुबान प्रभावितलाई मुआब्जा वितरण गरिरहेको छ । आयोजनाले डुबान पर्ने आरुघाट, आर्खेत, खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न भने अझै सकेको छैन ।
‘यो वर्षभित्र मुआब्जा निर्धारण गर्न बाँकी रहेका सबै ठाउँको मुआब्जा निर्धारण गर्ने तयारी पनि भइररहेको छ’ उनले भने ।
प्रभावितसँग छलफल गरी मुआब्जा निर्धारणका लागि लगभग सहमति भइसकेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेकाले आयोजनाले अब तत्कालै पुनर्वास र पुनस्थापनाको कामलाई अगाडि बढाउने प्रमुख कार्कीले जानकारी दिए ।