काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ सामाजिक सुरक्षा योजनामा सहभागिता गराएर सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइने बताएका छन ।
मंगलबार मन्त्रालयका सचिव महेश दाहालकाे संयाेजकत्वमा गठन भएकाे कार्यदलले वैदेशिक राेजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने विषयमा तयार गरेको प्रतिवेदन बुझ्दै मन्त्री विष्टले उमेर छउन्जेल विदेशमा पसिना बगाउने र उमेर ढल्किएपछि स्वदेश फर्किने नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने बताएका हुन् ।
प्रतिवेदनलाई तत्काल कार्यान्व्यनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री विष्टले भने, ‘प्रतिवेदनमा प्रस्तुत सुझावलाई गम्भीरताका साथ अध्ययन गरी सिफारिश गरिएका पक्षलाई कार्यान्वयन गर्न आवश्यक ऐन, कानून निर्माण गरिनेछ ।’ उनले जुन देशमा रहे पनि आफ्ना नागरिकलाई बुढेसकालमा सामाजिक सुरक्षाको प्रत्याभूति दिनका लागि प्रतिवेदन जसरी पनि कार्यान्वयन गराउने बताए ।
उनले प्रतिवेदन पूर्ण रूपमा कार्यन्वयन गर्न केही चुनाैती रहेको भएपनि सबैको सुझावअनुरुप प्रस्ताव अघि बढाउने र आवश्यक नीति र संरचना मिलाउँदै कार्यन्वयनको चरणमा लैजाने बताए । मन्त्री विष्टले योगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रममा समेत उत्साहजनक सहभागिता भैरहेको बताए ।