काठमाडाैं-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ यान्छीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले राजदूत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरेका थिए।
गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गरेका थिए।
भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे।
गृहमन्त्री थापाले राजदूत यान्छीमार्फत चीनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।
भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चीन सम्बन्ध थप उचाईमा पुर्याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।
उनले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरिन्।
यान्छीले नेपालको सामाजिक र आर्थिक विकासका लागि चीन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धतासमेत व्यक्त गरिन्।
राजदूत यान्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिएकी थिइन्।