काठमाडाैं–
सुचना तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालालर्इ काउन्टर जवाफ दिएका छन् । बिहिवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बासकाेटाले यस्ताे जवाफ दिएका हुन् ।
सरकारले डा. गोविन्द केसीको अनसन तोडाउने जिम्मा उनलाई बोक्नेहरुकै भएको बताएको छ । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।
अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि कांग्रेसले संसद अवरोध गरेको भन्दै उनले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने बताए । कांग्रेस सांसद मिनेन्द्र रिजालको नाम नलिई संसदमा जुहारीसँग गीत पनि सुनेको भन्दै उनले भने, ‘अर्को एउटा पनि गीत छ, सालको पात मात्र टपरी हुन्छ, सल्लाको हुँदैन । चर्चित प्रकरण सकियो । सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी हुन्छ ।’
बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गरे । उनले भने, ‘अझ एक स्टेप अगाडि बढेर सरकारले मागहरु सम्बोधन गरिसकेको छ ।’ संसदको दुबै सदनले पास गरेपछि पनि अनसनको औचित्य समाप्त भएको उनको दाबी छ ।
‘अब जजसले धेरै नै बोक्नुभएको छ, अन्धाधुन्धसित बस्ने ठाउँको ठेगान नभई जहाज उडाउनुभएको छ । उहाँहरुले नै अवतरण गराउनुपर्छ’ मन्त्री बास्कोटाले भने ।
माग पूरा भएको खुसीयालीमा अनसन छोड्ने, उक्साउनेहरुले पनि त्यो काम छाड्नु पर्ने उनको दाबी छ । मन्त्री बास्कोटाले भने, ‘जनताको जीत भएको छ भन्दै सिटामोल बोकेर जानु महानता हुन्छ । सरकारको अनुरोध यत्ति हो ।’