गाेरखा- भूकम्पले भत्काएका सरकारी कार्यालय निर्माणको काम तिब्र रुपले भइरहेको शहरी आवास तथा भवन डिभिजन कार्यालयले दाबी गरेको छ । भूकम्पले भत्काएका विभिन्न सरकारी कार्यालयको भौतिक प्रगती ७० प्रतिशत भन्दा बढि रहेको जिल्ला आयोजना कार्यान्यवन इकाई भवनका इन्जिनियर युवक श्रेष्ठले जानकारी दिए ।
जसअनुसार एसियाली बिकास बैंकको आर्थिक सहयोगमा निर्माणाधिन साबिकको जिल्ला कृषि कार्यालय, जिल्ला हुलाक कार्यालय, सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय गोरखा तथा जिल्ला भू–संरक्षण कार्यालय गोरखाको ७० प्रतिशत भौतिक प्रगती भएको उनको भनाई छ ।
ती कार्यालयहरुको वित्तिय प्रगती भने ४२ प्रतिशत छ । कुल १८ करोड १७ लाख ८१ हजार बजेट विनिजन भएकोमा हालसम्म ७ करोड ६ लाख २५ हजार रकम खर्च भएको श्रेष्ठले जानकारी दिए ।
यसैगरी जिल्ला अदालतको भवन निर्माण तर्फ भने ४५ प्रतिशत भौतिक तथा ४१ प्रतिशत वित्तिय प्रगती भएको छ । १६ करोड ५४ लाख १४ हजार बजेट विनियोजन भएको त्यहाँ हालसम्म ६ करोड ६६ लाख ३८ हजार रकम खर्च भएको शहरी आवाश तथा भवन डिभिजनको तथ्याङ्क छ ।
यसैगरी नेपाल सरकारको विनियोजन गरेको बजेटबाट जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय निर्माण भइसकेको छ । उक्त कार्यालय निर्माणका लागि १ करोड ८७ लाख ११ हजार बजेट विनियोजन भएको थियो । जिल्ला प्रशासन कार्यालयको क्वाटर निर्माणाधिन अबस्था छ ।
उक्त क्वाटरको ९७ प्रतिशत भौतिक तथा ५९ प्रतिशत वित्तिय प्रगती भएको भवन इन्जिनियर श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको क्वाटर निर्माणका लागि २ करोड २६ लाख २९ हजार बजेट बिनियोजन भएकोमा अहिलेसम्म १ करोड ३३ लाख ३६ हजार खर्च भएको छ ।
पश्चिमाञ्चल सिंचाई डिभिजन कार्यालयको क्वाटर निर्माणको काम ९० प्रतिशत सकिदा त्यहाँ ५६ प्रतिशत वित्तिय आर्थिक काम सम्पन्न भएको छ । उक्त क्वाटर निर्माणका लागि १ करोड ७२ लाख बजेट बिनियोजन भएकोमा हालसम्म त्यहाँ ९६ लाख ५ हजार खर्च भएको छ ।
यसैगरी भूकम्पमा ज्यान गुमाउनेहरुहको सम्झनामा केन्द्रबिन्दु बारपाकमा निर्माणाधिन भूकम्प स्मृती पार्क ३० प्रतिशत भौतिक प्रगती हुनुका साथै २८ प्रतिशत आर्थिक काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । उक्त पार्क निर्माणका लागि सरकारले १३ करोड ६ लाख ३४ हजार बजेट बिनियोजन गरेको हाल सम्म त्यहाँ ३ करोड ६६ लाख ५० हजार खर्च भएको छ ।
मुलुक संघियतामा गएपनि सरकार पुरानो कार्यक्रम भएकाले साबिकका कार्यालयहरु निर्माण गरिएको हो । भर्खरै निर्माण सम्पन्न भएको जिल्ला भू–संरक्षण कार्यालयको जिल्लामा कार्यालयन नहुने भएको छ । अन्य कतिपय कार्यालयको भवन पनि प्रयोग बिहिन हुन सक्ने कतिपयको आशंका छ ।
नरेन्द्र ढकाल/गोरखासमाचारबाट