झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको भद्रपुर–५ स्थित मेची पुलको शुक्रबार उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
‘सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ‘, उनले भने । रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको दावी गरे ।
सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उनले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।
मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको भन्दै उनले पुल सञ्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको दावी गरे ।
‘अब मेचीपुल सञ्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’, उनले भने, ‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’ तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विसं २०६८ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए ।
कूल ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल निर्माण भएसँगै भारतको बङ्गाल तथा विहार राज्यसँग सडकमार्फत सोझो सम्पर्क स्थापित भएको छ ।