गोरखा- जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्द्रको स्थापना गरिएको हो ।
जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक डा. मनबहादुर पुनले जानकारी दिए ।
‘यो कार्यालयले तत्कालका लागि गोरखा नगरपालिकासहित आसपासका क्षेत्रमा सेवा पुर्याउने योजना छ’, उनले भने, ‘बिस्तारै गाउँपालिकासँग समन्वय गरेर यसले कार्यक्षेत्र बिस्तार गर्दै लैजान्छ ।’
सेवा केन्द्रले आजैदेखि सेवा शुरु गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । उनले कृषकले पटकपटक कृत्रिम गर्भाधानका केन्द्र स्थापनका लागि माग गरेकाले यहाँको आवश्यकतालाई मध्यनजर गरी कार्यालय शुरु गरिएको बताए ।