काठमाडौं- सरकारले कुटनीतिक नियोगलाई बोलाएर शान्ति प्रक्रियाका बाँकी काम आफै टुङ्गो लगाउन सक्षम रहेको बताएको छ ।
सरकारको पछिल्लो धारणाबारे जानकारी दिन राजधानीमा शुक्रबार आयोजित ब्रिफिङमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आधारभूत रुपमा शान्ति प्रक्रिया टुंगिएको र बाँकी काम पनि आन्तरिक रुपमै सम्पन्न गर्न सक्षम रहेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा मन्त्री ज्ञवालीले अकल्पनीय राजनीतिक मुद्दालाई यहाँसम्म ल्याउन सफल नेताहरू शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन पनि सक्षम रहेको बताए । उनले विस्तृत शान्ति सम्झौताको मर्म, अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता, पीडितहरूको सरोकार, त्यससम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालगायतका मार्गदर्शन सिद्धान्तको आधारमा शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार तयार रहेको उल्लेख गरे ।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।
सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ । गोरखा भूकम्पपछि विसं २०७२ असारमा भूकम्पपछिको पुनःनिर्माणका लागि नेपालले दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो ।