गोरखा–जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए ।
‘ताङलिचोकलाई पनि जोडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५ प्रतिशत सुन्तला उत्पादन तथा बिक्री भएको छ ’, उनले भने ।
जिल्लामा यसवर्ष छ हजार ६०० टन सुन्तला उत्पादन तथा बिक्री भएको उनले बताए । यसवर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम ५० देखि अधिकतम ८० किलोसम्ममा बिक्री भएको छ ।
जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ । ‘अघिल्लो वर्ष चैत महीनामा खडेरी र असिनाले सुन्तला राम्रो हुनसकेको थिएन’, उनले भने, ‘तर यस पटक गएको चैत महीनामा पानी राम्रो परेकाले उत्पादनमा वृद्धि भएको हो ।’
यस्तै जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैँचा व्यस्थापन, सिँचाइको राम्रो व्यवस्था लगायतका कारणले पनि सुन्तला उत्पादनमा वृद्धि भएको हाे ।
खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पु¥याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताए । त्यस्तै, जिल्लाको देउराली, खेप्लाङ लगायतका क्षेत्रमा पनि व्यावसयिक सुन्तलाखेती गरिँदै आएको छ । जिल्लामा कूल ८६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ ।