गोरखा- बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप एक अर्ब आठ करोड मुआब्जा वितरण गरेको छ ।
राष्ट्रिय गौरव आयोजनाका रुपमा निर्माण गर्न लागिएको उक्त आयोजनाले डुबान क्षेत्रमा पर्ने साविकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको हो ।
‘धावादेखि बालुवाटारसम्मका डुबान प्रभावितको बैङ्क खातामा रकम पठाइएका छौँ’, आयोजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले भने, ‘कागजात पुगेका सबैको खातामा रकम पठाएका हौँ ।’
आयोजनाले चालू आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको उनकाे दावी छ ।
आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैङ्क खातामा समेत रकम पठाइसकेको छ । आयोजनाले यो पटक ५२५ डुबान प्रभावितको बैङ्क खातामा मुआब्जा रकम पठाएको आउनले बताए ।

डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न आयोजनालाई १८ अर्ब रकम प्राप्त भएको र सो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न पुग्ने अनुमान रहेको इकाईले जनाएकाे छ । त्यस्तै डुबान प्रभावित क्षेत्रमा घरगोठ, फलफूल र बोट बिरुवाको तथ्याङ्क सङ्कलनको कामसमेत अघि बढाइएको उनले बताए।
एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रमा फलफूल बोटबिरुवा घरगोठको लगत सङ्कलनमा खटिने कर्मचारीलाई अभिमुखीकरण तालीम प्रदान गरिसकिएको दावी गरे ।
‘मुआब्जा निर्धारण भएका सबै क्षेत्रमा जमीनको मुआब्जा वितरणको काम सकिनै लागेको छ’, उनले भने, ‘अब हामीले यसै वर्षदेखि नै घरगोठ, फलफूल र बोटबिरुवाको पनि मुआब्जा वितरण गर्न लगत सङ्कलनको काम शुरु गर्न लागेका छाैँ’ ।