गोरखा- नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको बताएका छन् ।
जिल्लाकाे आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उनले बूढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको बताएका हुन् ।
‘बुढीगण्डकी नेपालीले बनाउनुपर्छ, समयमै बनाउनुपर्छ,’ उनले भने, ‘भिजन नभएका नेताहरु भ्यू टावर बनाएर बूढीगण्डकीलाई पछाडि धकेलिरहेका छन् ।’
‘मान्छे भनेको आधा पापी वा पाशविक गुण र आधा सन्त अथवा मानवीय गुण रहेको प्राणी हो । क्रान्तिको रापताप सेलाएपछि सत्तामा पुगेपछि पाशविक प्रवृत्ति बढ्दो रहेछ,’ उनले भने, ‘म व्यक्तिलाई दोष दिन्न तर पाशविक प्रवृत्ति नरोके जो पनि बिग्रन सक्छ ।’
हिजो त्याग गरेका नेताहरुले राज्यलाई दुहुनो गाई बनाएको भन्दै उनले भने, ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा छिर्नेहरु रातारात अभिजात वर्गमा रुपान्तरण भए । राज्यलाई योगदान गर्नेभन्दा दोहन गर्नतिर लाग्नुभयो ।’ देशमा ठूला ठूला काण्डहरु यसैकारण घटिरहेको उनको बुझाई थियो ।
‘बूढीगण्डकीमा तीनवटै पार्टीका ठूला नेताहरु मुछिएका छन्,’ उनले भने, ‘त्यसैले यो परियोजनालाई भकूण्डो खेलेजस्तो गरिरहेका छन् । कहिले यता फाल्ने कहिले उता फाल्ने गरेर अलपत्र पारिरहेका छन् ।’

पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उनको तर्क थियो । ‘मलाई पनि खबरदारी गर्नुहोस् । म त्यही भएर निरन्तर जनताकोमा जान्छु,’ उनले भने, ‘हामी जनता पनि नयाँ नबनीकन देश बन्दैन । पुरानो सोच सबैले त्याग्नुपर्छ ।’
पार्टीद्वारा आयाेजित जनसंवाद यात्राको महत्वमाथि बोल्दै उनले यसअघि पृथ्वीनारायण शाहले गरेको एकीकरण प्रशासनिक र फौजी एकीकरण मात्रै भएको बताए । उनले भने, ‘मध्यपहाडी लोकमार्ग नेपालको भौगोलिक र राष्ट्रिय एकीकरण गर्ने मेरो विश्वास छ ।’
उनले मध्यपहाडी लोकमार्ग आसपास ७ जातिहरुको घना बसोबास रहेको र यो लोकमार्गले उनीहरुबीचको आवतजावत र संसर्ग बढ्ने विश्वास व्यक्त गरे । सयौं थुंगा फूलका एउटै माला यसअघि बनिनसकेकोले सडकले जनतालाई जोड्ने र समृद्धिको आधार सिर्जना गर्ने उनको धारणा थियो ।

दरौंदी किनार चोरकाटेमा भेटघाट गर्दै । स्थानिय भन्छन् ‘बर्षौं वित्दा पनि ठेकेदार-प्रशासन मिलिमतोमा दरौंदी किनार हुँदै वारपाक पुग्ने सडक पिच हुन सकेन’
प्राकृतिक रुपले संसारमै धनी देश भएर पनि गरिब भएर बाँच्नुपर्ने बिडम्बनापूर्ण अवस्थाबाट मुक्त गर्न नयाँ शक्तिले नयाँ युगको नेतृत्व गर्न सक्ने पार्टी निर्माण सुरु गरेको उनले बताए। यो एजेन्डा बिस्तारै सबैले स्वीकार्दै गएको उनले बताए ।
‘घर भत्काउने क्षमता भएका मानिसले घर बनाउन नसक्न सक्छ । बनाउने काम गर्न छुट्टै क्षमता चाहिन्छ,’ उनले भने, ‘अब देश बनाउनका लागि त्यस्तै क्षमता भएका मानिसहरु राजनीतिमा आउनुपर्छ । हिजोको कांग्रेस, एमाले र माओवादी भएर पुग्दैन भनेर म नयाँ राजनीतिक अभियानमा लागेको हुँ । यो प्रक्रिया संसारभरी नै देखिएको छ ।’
माओवादी छाडेकोबारे नागरिकले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मैले माओवादी छाडेका होइन, माओवादीले आफ्नो काम सकिसकेपछि म त थप अगाडि बढेको हो । धोका दिएको होइन, उनले भने, बरु माओवादीलाई एमालेमा लगेर मिसाएर प्रचण्डजीले धोका दिनुभयो ।’