गाेरखा- ५० लाख रुपैंया बराबरको आर्थिक कारोबार गर्दै आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ सकिएको छ ।
‘अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातीको पहिचान संरक्षण गर्ने आदीबासीको अभियान’ भन्ने मूल नाराका साथ नेपाल आदीबासी जनजाती महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनी ईकाइ समितीको आयोजनामा आँबुखैरेनी–३, सैंबोटे तनहुँमा गत माघ १७ गतेबाट सुरु भएको महोत्सव भव्य समारोहकाबीच सकिएको हो ।
समितीका अध्यक्ष तथा महोत्सवका संयोजक रेशम भुजेलको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महोत्सवमा करिब १ लाख दर्शकहरुले अवलोकन गरेको महोत्सवकी प्रवक्ता मिलन भूजेलले जानकारी दिए ।
प्रवक्ता भूजेलले आदीबासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव आँबुखैरेनीमा पहिलो पटक आयोजना गरिएको र सफल भएको बताए । महोत्सव मार्फत आदीबासी जनजाती समुदायको भाषा, संस्कृति संरक्षणमा टेवा पुगेको महसुस भएकाे उनकाे भनाइ थियाे ।
राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती, स्थानीय आदीबासी जनजातीको संस्कृति, भेषभूषा, खानाका परिकार, आदीबासी जनजातीको घर, कौंरा प्रतियोगिता, रत्यौंली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी लगाएत महोत्सवको मुख्य आकर्षणहरु रहेका थियो ।