नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसङ्गठन गरी लखन थापामगरको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो ।
त्यही विद्रोहले जङ्गबहादुर राणाद्वारा स्थापित एकतन्त्रीय तानाशाही शासनको अँध्यारो कालरात्रिमा अधिकारविहीन अवस्थामा पिल्सिरहेका नेपाली जनतालाई सङ्गठित गरी पहिलोपटक प्रजातन्त्र प्राप्तिको विद्रोहमा सहभागी गराउने सफलता पायो ।
जङ्गबहादुरको निरङ्कुश शासन विरुद्ध जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढेको यो सशस्त्र विद्रोह यस्तो ऐतिहासिक महत्वको बन्न पुग्यो जसले जङ्गबहादुरको मुटु हल्लाइदियो । यस घटनाले नेपाली समाजमा राजनीतिक चेतनाको दियो बाल्ने र प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गर्न सक्योे ।

लखनको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोह र उनले प्राप्त गरेको शहादत पछिल्ला पुस्ताका निम्ति प्रेरणाको स्रोत बन्न पुग्यो । त्यही मार्गलाई शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ जस्ता नेपाली सपूतहरूले अवलम्बन गरे । फलस्वरूप नेपालमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक व्यवस्था स्थापना भएको छ । यस अर्थमा प्रथम शहीद लखन थापामगर लोकतान्त्रिक शासन व्यवस्थाका प्रवर्तक हुन् ।
वि.सं. १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं. ७ बुङ्कोट काहुले भङ्गारमा जन्मिनुभएका लखन थापामगर वि.सं. १९११ मा पुरानो गोरख पल्टनमा भरना हुनुभएको थियो । त्यस समयमा नेपाली जनता जङ्गबहादुर राणाद्वारा सूत्रपात गरिएको निरङ्कुश जहाँनिया शासनको जाँतोमुनि पिल्सिएर बस्नुपरेको थियो ।
जङ्गबहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्ध कोही कसैले ‘चुँ’ सम्म गर्न सक्ने स्थिति थिएन । नेपाली समाजमा ‘कालको औषधि छैन, हुकुमको जवाफ छैन’ भन्ने आहान नै चलेको थियो । त्यसवखत भारतमा अँगे्रजको औपनिवेशिक शासन चलेको थियो । १० मे १८५७ ई.सं. को मेरठ गोलीकाण्डपछि भारतमा अङ्ग्रेज उपनिवेशको विरुद्धमा सैनिक विद्रोह जन्मियो ।

विद्रोहले उग्ररूप लिएपछि भारतीय–अङ्ग्रेज सरकारको अनु्रोधमा ई.सं. १८५७ डिसेम्बर १० मा जङ्गबहादुर २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै भारत प्रस्थान गरे । अङ्गे्रज र नेपाली संयुक्त फौजले लखनउ लगायतका विभिन्न स्थानमा फौजी कारवाही सञ्चालन गरी भारतीय स्वतन्त्रताका निम्ति विद्रोह गर्नेहरूमाथि निर्ममतापूर्वक दमन ग¥यो ।
जङ्गबहादुरले भारतीय जनताद्वारा स्वतन्त्रता प्राप्तिका निम्ति गरिएको आन्दोलनलाई दबाउन भारतीय– अङ्ग्रेजलाई सहयोग गरेकाले त्यतिवेला नै ‘जङ्गबहादुरले नेपाल म्लेच्छ –अङ्ग्रेज) लाई बेच्यो’ भनी लखन थापाले उद्घोष गर्नुभएको थियो ।
लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसक्नु भएको थियो तर पद र भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ मा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई सेनाको जागिर छाडेर जङ्गबहादुरको शासन विरुद्ध जनतालाई सङ्गठित बनाउने कार्यमा सक्रियतापूर्वक लाग्नुभयो ।
गोरखाको बुङ्कोट काहुले भङ्गारमैं लखनले जनताको सहयोगमा एउटा बलियो किल्ला निर्माण गर्नुभयोे । किल्लामा भेला भएका जनतालाई राजनीतिक चेतना प्रदान गरी जङ्गबहादुरको अत्याचारी शासन विरुद्ध जनमिलिसिया तयार गर्ने काम जोडतोडले भइरहेको थियो ।
लखनको तार्किक क्षमता र असल व्यक्तित्वले गर्दा छोटो समयमा नै जङ्गबहादुरको विरुद्ध धेरै जनता सङ्गठित भइसकेका थिए । लखनले त्यतिबेला सङ्गठित जनतासामु उद्घोष गर्नुभयो – ‘म शिद्ध लखन थापाको अवतार हुँ ।
जङ्गबहादुरले नेपाल म्लेच्छ –अङ्गे्रज) लाई बेच्यो । दुनियाँलाई त्राही–त्राही पारिरहेको छ । जङ्गबहादुरलाई हटाएर नेपालमा प्रजातान्त्रिक युग फिराउ भनी मनकामना माताले मलाई आज्ञा दिएकी छिन्, लौ भाई हो तयार होऔँ !’
लखनको उद्घोषले समाजमा गहिरो प्रभाव पा¥यो र जङ्गबहादुरको विरुद्धमा ठूलो जनमत सिर्जना भयो । जङ्गबहादुरको दमन, अत्याचार र अन्याय विरुद्धको विद्रोही अभियानमा जनसमर्थन जुटाउन मनकामना र शिद्ध लखन थापाको प्रसिद्धीलाई रणनीतिक रूपमा प्रयोग गरिएको थियो ।
वि.सं. १९३२ मा जङ्गबहादुरको शासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । यो नै जङ्गबहादुरको सत्ता विरुद्ध नेपाली जनताद्धारा घोषित पहिलो बैकल्पिक सत्ता थियो ।
इतिहासकार पदमजङ्ग राणाका अनुसार लखन थापाले हातहतियारसहित पन्ध्र सय मानिसहरू एकत्रित गरिसकेका थिए भने राजधानीमा हमला गर्ने धम्कीसमेत दिनुभएको थियो । जङ्गबहादुरको अन्त्य गरेर नेपालको शासन अधिकार हातमा लिई सुनौलोब प्रजातान्त्रिक युग आरम्भ गर्ने लखन थापाको योजना थियो ।
तत्कालीन समयमा गोरखाको मुद्दामामिला हेर्ने सर्वजित थापा क्षेत्रीले लखनको नेतृत्वमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जङ्गबहादुर समक्ष जाहेर गरे । यो सूचना पाएपछि जङ्गबहादुर क्रुद्ध भई लखनलगायत उहाँका सहयोगीहरूलाई पक्रेर ल्याउन धीर शमशेरलाई आदेश दिए ।
आदेश बमोजिम देवीदत्त पल्टनका सैनिकहरू गोरखा पुगी लखनको किल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र विद्रोही सेनाबीच भिडन्त भयो । अन्तमा विद्रोहीहरू पक्राउ परे । उनीहरूलाई बाँसको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौँ पु¥याईयो ।
इतिहासकार प्रमोद शमशेर राणाका अनुसार विद्रोहीहरूमाथि बर्बरतापूर्वक कोर्रा हानी ठूलो यातनासहित थापाथली दरबारमा मुद्दा चलाइयो । लखन र उहाँका सहयोगीहरूलाई झुण्ड्याएर मार्ने फैसला भयो तर राणा शासक सामुु उनीहरू झुकेनन् ।
वि.सं. १९३३ फागुन २ गते सबैभन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुङ्कोट काहुले भंगारस्थित उहाँकै किल्ला परिसरको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा छालासमेत काढेर बर्बरतापूर्वक झुण्ड्याइयो । सँगसँगै अन्य विद्रोहीहरूलाई पनि बलिमा चढाईयो ।
त्यो विद्रोहका नायक लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उहाँलाई वि.सं. २०५६ मा शहीद घोषणा ग¥यो भने वि.सं. २०७२ असोज ३ गते औपचारिक रूपले नेपालको पहिलो शहीदको दर्जा प्रदान ग¥यो । साथै वि.सं. २०७३ मा प्रथम शहीद लखनको नाम र फोटो अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
सङ्घीयता कार्यान्वयनसँगै लखनको नाममा गोरखामा शहीद लखन गाउँपालिका बनेको छ । निश्चय नै यो पदवी उहाँको बलिदानीपूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन सङ्घर्षप्रतिको सम्मान हो । यो सम्मान लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताको गौरवको विषय पनि हो ।
शहीद लखन थापामगरकोे जन्मभूमि, विद्रोही अभियान सञ्चालन गरी शहादतसमेत प्राप्त गरेको स्थल शहीद लखनको ऐतिहासिक किल्ला परिसरमा नेपाल मगर सङ्घको पहलमा वि.सं. २०६० मा लखनको अर्धकदको प्रतिमा स्थापना गरिएको छ । यस किल्ला परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलको रूपमा संरक्षण र विकास गर्न शहीद लखन गाउँपालिकाले गुरु योजना तयार गरेको छ ।
त्यसैगरी नेपाल मगर सङ्घ, नागरिक समाज एवं बुद्धिजीवीहरूको पहलमा पोखरा, बुटवल, धादिङ्ग, पाल्पा, इलाम, दाङ, चितवन लगायतका ठाउँहरूमा लखन थापामगरको सालिक स्थापना गरिएका छन् भने स्वदेशी एवं विदेशी इतिहासकार, अनुसन्धानकर्ता, बुद्धिजीवी एवं लेखकहरूले उहाँको वलिदानी र ऐतिहासिक योगदानबारे चर्चा गरेका छन् ।
लोकतान्त्रिक शासन व्यवस्था स्थापनार्थ उहाँले पु¥याएको वलिदानी एवं योगदानलाई आम नेपाली माझ जीवन्त राख्न उनका ऐतिहासिक धरोहरहरूको संरक्षण एवं विकास र उनका योगदानबारे प्रचारप्रसार हुन आवश्यक छ ।
(लेखक सहिद लखन गाउँपालिका प्रशासकीय अधिकृत हुन)
जिवन अालेमगर/गाेरखापत्र दैनकिबाट