काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् । सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै उनले नेपालमा पनि यो व्यवस्था गर्न लागेको बताए ।
‘फेसबुक, ट्वीटर, इमो वा गुगल अब दर्ता गरेर मात्रै चलाउन पाइन्छ’, उनले भने । सरकारले हालै संसदमा दर्ता गरेको सूचनाप्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले कहिँ नभएको कुरा नेपालमा मात्र ब्यवस्था गर्न लागेको नभई अन्य देशले गरेको व्यवस्था नेपालमा पनि अनुकरण गरिएको बताए ।
‘कहिँ नभएको कुरा यहाँ गर्न खोजिएको भन्ने होइन, यसले आलोचकलाई दण्डित गर्दैन ।’ मन्त्री बास्कोटाले भने । उनको भनाई अनुसार सामाजिक सञ्जालमा फेक आईडी खोल्ने र आफ्नो परिचय लुकाएर अरुको चरित्र हत्या गर्नेलाई कार्वाहीको दायरामा ल्याउन सक्छ ।
कसैप्रति पूर्वाग्रह साँध्नका लागि विधेयक नल्याइएको प्रष्टीकरण दिँदै अन्य मुलुकले पनि यस्तै कानुन ल्याएको उदहारण दिए । मन्त्री बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुपमा दर्ता गर्ने नभई सामाजिक सञ्जाल सञ्चालक दर्ता हुने व्यवस्था गरिएको पनि बताए ।