अजिरकोट- अजिरकोट गाउँपालिका-३, हंसपुर निवासी बिजय प्रसाद अधिकारीले नाती नातीनीहरु विद्यालयबाट घरमा आउने बित्तिकै खाजा खाएर एकछिन त्यो पल्तिर गरामा गएर बेस्सरी गित गाएर नाचओ है भन्दै गर्दा बाँदर धपाउनुको बिकल्प खाज्दै थिए उनी ।
हाल गोरखा जिज्लाको उत्तरी गाउँपालिका अजिरकोट ३ मा बाँदर आतंकले गाउँमा उठीबास बनाउने स्थिती भएको छ । रुखमा भएका फलफुल देख्न पाउनु कुरा त परै जाओस् खेतमा लगाएको अन्नबाली तथा घरकै छेउछाउमा राखेको खाद्यान्न पनि कसरी जोगाउने भन्ने चिन्तामै दिन बित्छ यहाँका स्थानियहरुको ।
रातीको समयमा बाँदर नआउने र उज्यालो भएपछि मात्र बाँदर लाग्ने भएकोले बाँदर धपाउने दैनिकी नै हुन्छ यहाँका प्रत्येक घर–घरमा । गाउँमै बसी खेती गरेर खान्छु भन्नु असम्भव जस्तै बनाएको छ यस क्षेत्रमा बाँदर आतंकले ।
बारीमा लागएको लसुन , प्याच आलु केही राखेको छैन बाँदरले । पहिले वर्षको केहि सिजनमा आकल–झुकल मात्र देखा पर्ने बाँदर अहिले हुलका हुल गाउँमा चाहर्ने गर्दछन् । लगाएको खेती खान मिल्ने भए खान्छ नमिल्ने भए नष्ट गरेर छाड्छ ।
बाँदरले यसो गर्दा यहाँ वस्न दिक्क लागेको र अब बासको बिकल्प खाज्न थालेको बताउँछन् स्थानिय जिवनाथ अधिकारी। गाउँमा मानिस कम बस्दै गर्दा र भएका खेतीहरुमा पनि अलैंची लगाएर जंगल बढदै भएकोे यस स्थानमा बाँदरलाई चहार्न जमिन टेक्नै नपर्ने हुँदा बाँदरले हेप्ने गरेको छ ।
केटाकेटी र बुढापाकालाई धपाउँदा टेर्दै नटेर्ने बाँदरले बयस्कहरुले पनि गुलेली र झटारो देखाएपछि मात्र भागेको जस्तो गर्छ । घर–घरमा रोड र बिजुली पुगेर बिकासको मुख देख्दै गरेको यहाँको गाउँमा बाँदरले खुसी हुन नदिने अवस्था ल्याइदिएको छ । धेरै समय बाहिर बसेर गाउँमै केही गरौं भनेर फर्केकाहरुलाई बाँदरले निरास पारेको छ ।
पहिले तरकारी र फलफुल टन्न हुने यस स्थानमा अहिले आलु लगायत तरकारी तथा खाद्यान्नहरुमा बजारको भर पर्नु परेको छ । बेलैमा बाँदर व्यवस्थापन नगर्ने हो भने यहाँ बस्न सक्ने स्थिीती नहुने, खेती पाती गर्न नै नपर्ने अवस्था आउने हुँदा यसको केही व्यवस्था गरी समस्या समाधान गर्नमा जोड दिनु आवश्यक रहेको यहाँको बासीन्दाहरुको भनाई रहेको छ ।
गाउँ गाउँमा सिंह दरवार पुगेको अहिलेको अवस्थामा स्थानिय सरकारले यसको उचीत व्यवस्थापन गरी स्थानियलाई गाउँमै बस्ने वातावरण तयार पार्नु आवश्यक देखिन्छ । अन्य क्षेत्रहरुको समाचारहरुमा आएजस्तै तालिमप्राप्त विशेषज्ञहरुले बाँदर धपाउने तथा बाँदर भाग्ने झार लगायतको प्रयोगले बाँदर व्यवस्थापन हुन्छ भने यी कुरा सोची स्थानीय सरकारले स्थानियबासी समक्ष उपलब्ध गराउनु आवश्यक देखिन्छ ।