नयाँ शक्ति कस्तो हुने भन्ने विषयमा धेरै छलफल र बहसपछि ३ वर्ष लगाएर पार्टी खोल्नुभयो । तर, पार्टीले गति किन लिएन ?
हामीले पार्टी खोल्न खोजेको होइन, नयाँ युगको आवश्यकता पूर्ति गर्ने ढंगले नयाँ वैचारिक–राजनीतिक दर्शनको विश्वव्यापी रूपमा संश्लेषण गर्न खोजेको हो । दोस्रो, नेपाल लोकतान्त्रिक चरण पूरा गरेर समृद्धिको चरणमा प्रवेश गरेको छ ।
त्यो समृद्धीकरणका निम्ति आवश्यक राजनीतिक सुशासन र विकासको मार्गचित्रसहितको वैकल्पिक शक्ति निर्माण गर्ने हाम्रो लक्ष्य हो । १८औँ–१९औँ शताब्दीदेखि संश्लेषण भएर पुँजीवाद र साम्यवादका दुईवटा धार आए ।
२०औँ शताब्दी यही दुई विचारधाराको संघर्षमा बित्यो । शीतयुद्धको अन्त्यसँगै २१औँ शताब्दी सुरु भएपछि त्यो वैचारिक ऊर्जा समाप्त भयो । अहिले विश्वभर नै वैकल्पिक शक्तिको खोजी भइरहेको छ ।
त्यो भनेको एउटा वैकल्पिक राजनीतिक दर्शनसहितको शक्तिको खोजी हो । यसले केही समय लिन्थ्यो । लिएको छ, तर यसले गति नलिएको भन्ने कुरा मान्दिनँ । क्रमिक रूपमा विस्तारै गति लिन्छ ।
आफूलाई वैकल्पिक शक्ति भन्ने विवेकशील साझा फुट्यो । नयाँ शक्ति पनि कमजोर बन्दै गएको देखिन्छ । यसले वैकल्पिक शक्ति आवश्यक नै छैन भन्ने पुष्टि गर्दैन र ?
आधुनिक इतिहासलाई हेर्दा करिब ५ हजार वर्ष पहिले मानव सभ्यताको युग सुरु भयो । त्यो ५ हजार वर्षमध्ये ४ हजार ५ सय वर्ष अन्धकार र दास–सामन्त युगमै बित्यो । आजभन्दा ४÷५ सय वर्षअघि पुँजीवादी युग सुरु भयो ।
औद्योगिक क्रान्ति भयो । प्रबोधनको युग आयो । औद्योगिक क्रान्ति भइरहँदा पनि थुप्रै मानिस यो नहुने कुरा हो भन्ने गर्थे । त्यसवेला पनि यसले २÷३ सय वर्ष लिएको थियो । त्यसपछि मात्रै त्यसले निश्चित आकार लिएको थियो । अब २१औँ शताब्दीमा नयाँ युग सुरु हँुदै छ ।
यसको त २ दशक पनि बितेको छैन । हामी आफैँले विचारअगाडि सारेको तीन वर्ष पुगेको छैन । सयौँ वर्ष लाग्ने कामलाई तीन वर्षमै भएन भन्नु इतिहासप्रतिको अज्ञानता मात्रै हो ।
वैकल्पिक शक्ति भनिनेहरूबीच सहकार्य वा एकता किन हुन सकिरहेको छैन ?
कुनै पनि चिज आविष्कार हुँदा फरकफरक कोणबाट हुने गर्छ । नयाँ शक्तिको अवधारणा मैले नै सुरु गरेको हो । मैले यो कुरा अगाडि सारेपछि स्वतः सबैतिर जिज्ञासा बढ्दै गयो । उदाहरणका लागि, नेपालमा पुँजीवादी धाराको प्रतिनिधित्व गर्ने कांग्रेसको जन्मलाई हेर्न सकिन्छ ।
त्यसवेला प्रजातान्त्रिक कांग्रेस र राष्ट्रिय कांग्रेस भनेर दुईवटा कांग्रेस पार्टी एकैपटक जन्मिए । लामो समयपछि त्यो पार्टी एक भयो । ००६ सालमा एकैपटक लाल कम्युनिस्ट पार्टी र नेकपा स्थापना भए ।
एउटाले अहिले कम्युनिस्ट पार्टी स्थापना २२ अप्रिलमा भएको भन्छ, अर्कोले १५ सेप्टेम्बर । राप्रपाजस्तो प्रतिगामी पार्टी पनि एकैपटक दुईवटा जन्मिएका थिए । नयाँ वैकल्पिक धारा पनि उसैगरी जन्मिनु स्वभाविकै हो ।
हामीले सुविचारित ढंगले वैज्ञानिक चिन्तन–दर्शनमा आधारित भएर विचार अगाडि सारेका छौँ । पुँजीवाद, साम्यवादभन्दा माथि उठेको पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैकल्पिक शक्तिको कुरा गरेका छौँ ।
अरू साथीहरूले खाली पार्टीको सांगठनिक कुरा अथवा आंशिक राजनीतिक कुरा गरेका छन् । केही समयपछि एउटा बृहत् धु्रवीकरण हुन्छ र नयाँ वैकल्पिक शक्ति जमेर आउँछ ।
तपाईँले जनयुद्धमा माओवादीलाई फरक शक्ति भन्नुहुन्थ्यो । त्यसलाई छोडेर अहिले नयाँ शक्ति भनेर लाग्नुभएको छ । तर चुनावमा कुनै प्रभाव देखाउन सक्नुभएन नि !
हिजोका कांग्रेस, एमाले, माओवादी भनेका पुँजीवादी क्रान्ति सम्पन्न गर्न जन्मेका पुँजीवादी रुखका अलगअलग धार हुन् । स्वतन्त्रता, समानता र भातृत्व प्रबोधन युगकै हाँगाबिँगा हुन् । त्यसैले, कांग्रेसपछि एमाले, एमालेपछि माओवादी आएर त्यो रुखलाई पूर्णता दिए । त्यो रुखमा लाग्नेजति फल लागिसक्यो, अब केही फल्दैन ।
अब हामीले नयाँ रुख रोप्दै छौँ । प्रबोधन युगपछिको अर्को युग जन्माउने गरी काम गर्दै छौँ । अहिले नै चुनाव जितेन भन्नु बिरुवा रोप्नेबित्तिकै फलको आशा गर्नुजस्तै हो । त्यस्तो कति उपयुक्त होला ?
मध्य पहाडी लोकमार्गको एक महिना भ्रमण कस्तो रह्यो ?
नेपालमा नयाँ युगको सुरुवातसँगै नयाँ विचार, नयाँ राजनीति, नयाँ संगठित शक्ति, नयाँ संस्कृति विकासको मार्गचित्र खोजी भइरहेको छ । त्यसैले, हामीले मध्यपहाडी लोकमार्ग अभियान चलाएका थियौँ । मध्य पहाड बसोवासको मूल थलो हो ।
यसको बीचबाट पूर्वदेखि पश्चिमसम्म यात्रा गर्दा नेपालको वास्तविक धरातलको अनुभूति हुन्छ । विकासका समस्या पहिचान हुन्छन् भनेर यात्रा ग-यौँ । हामीले यसको ‘थिम’ नै ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भनेका थियौँ । जनताबाटै धेरै कुरा सुन्यौँ । खासगरी स्थानीय तहका जनप्रतिनिधि, किसान, उद्यमी, व्यवसायीसँग कुरा गरियो ।
माघ १५ गतेदेखि फागुन १५ गतेसम्म १ सय ४४ वटा साना–ठूला अन्तरसंवाद ग-यौँ । हामीले ५० हजारजनासँग प्रत्यक्ष र लाखौँसँग परोक्ष रूपमा कुरा ग¥यौँ । हामीले के पायौँ भन्ने जनतामा परिवर्तनको तीव्र आकांक्षा छ । राजनीतिक परिवर्तनपछि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण छिटो होस् भन्ने चाहना छ । त्यो ढिलो हुँदा वा अलमलिँदा थोरै निरास पनि छन् ।
देश संघीयतामा गइसकेपछि स्थानीय तहमा दिइएको अधिकार कार्यान्वयनमा जटिलता देखिएको छ । विकास र समृद्धिको चाहना पूरा नभएको देखियो । पूर्व, मध्य र पश्चिममा असमानता छ । पूर्व अलि अगाडि, मध्य अलि बीचमा र मध्यपश्चिम र सुदूरपश्चिम अझ पछि परेको देखियो । यसरी हेर्दा जनसंवाद यात्राले हामीलाई नयाँ वैकल्पिक शक्ति निर्माण गर्न तीव्र राजनीतिक ध्रुवीकरण अगाडि बढाउन मद्दत पुग्यो ।
यो यात्रामा हामीले दलगत कुरा गरेनौँ । मूल रूपमा युगीन परिवर्तनका कुरा ग¥यौँ । भएका दलहरूभन्दा माथि उठेर देशको तीव्र आर्थिक विकास र समृद्धिका निम्ति के गर्नुपर्छ भनेर विचार विमर्श ग¥यौँ । त्यसको अर्थ राष्ट्रिय एजेन्डा निर्माण गर्न भ्रमण फलदायी भयो भन्न मिल्छ ।
अहिले दुईतिहाइको सरकार छ । तैपनि विकासका कामले गति लिएको छैन । समस्या कहाँनेर देख्नुहुन्छ ?
खास समस्या युग परिवर्तनको बोध राम्रोसँग नहुनु नै हो । राजनीतिक संचरनाको परिवर्तनपछि त्यसलाई दीगो बनाएर अगाडि लैजान आर्थिक–सामाजिक आधारमा पनि परिवर्तन ल्याउनुपर्छ । तर, त्यो बुझाइ र दूरदृष्टि राजनीतिक नेतृत्वमा छैन ।
निश्चित लक्ष्य निर्धारण गरेर समयमै पूरा गर्ने ठोस कार्ययोजना छैन । सरकारसँग समग्र मार्गचित्र भएन । उदाहरणका लागि मध्यपहाडी लोकमार्ग मैले नै ०६५ सालमा अर्थमन्त्री हुँदा परिकल्पना गरेर बजेट विनियोजन गरेको थिएँ ।
मध्यपहाडलाई पूर्वदेखि पश्चिमसम्म जोड्न त्यस्तो राष्ट्रिय मार्ग चाहिन्छ, झिनामसिना साना बाटा बनाएर हुँदैन । कृषिप्रधान अर्थतन्त्र रूपान्तरण गर्न रणनीतिक महŒवका मार्ग बनाउने, त्यसपछि स्थानीय तहका सहायक मार्गहरू निर्माण गर्ने भनेर पूर्व–पश्चिम मार्ग र उत्तर–दक्षिण कोसी, गण्डकी र कर्णाली करिडोरको अवधारणा अगाडि सारेको थिएँ ।
त्यो एक किसिमको भिजन थियो । त्यसलाई मात्र समातेर जान सकेको भए पनि सरकारले केही परिणाम देखाउन सक्थ्यो । यस्तै, मैले राष्ट्रिय गौरवका आयोजना १७ वटा राखेको थिएँ । ती आयोजनालाई अघि बढाएको भए पनि परिणाम देखिने थियो । आयोजना सञ्चालनमा भएको भए १०औँ लाखलाई रोजगारी दिन सकिन्थ्यो । तर, त्यो दूरदृष्टि अहिलेको सरकारमा देखिएन । दूरदृष्टि र कार्ययोजनाको अभाव नै मुख्य समस्या हो ।
हामीले सुविचारित ढंगले वैज्ञानिक चिन्तन–दर्शनमा आधारित भएर विचार अगाडि सारेका छौँ । पुँजीवाद, साम्यवादभन्दा माथि उठेको पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैकल्पिक शक्तिको कुरा गरेका छौँ ।
अरू साथीहरूले खाली पार्टीको सांगठनिक कुरा अथवा आंशिक राजनीतिक कुरा गरेका छन् । केही समयपछि एउटा बृहत् धु्रवीकरण हुन्छ र नयाँ वैकल्पिक धार शक्ति जमेर आउँछ ।
तपाईंले भनेजस्तो परम्परागत पार्टीले पनि विकास र समृद्धिलाई अगाडि बढाउन नसक्ने, वैकल्पिक शक्ति पनि नेतृत्व गर्ने गरी अगाडि आउन नसक्ने । विकास र समृद्धिका लागि जनताले अब कति समय प्रतीक्षा गर्नुपर्ने हो ?
जनताले अब लामो प्रतीक्षा गर्नुपर्दैन । हाम्रो यो भ्रमणपछि के लाग्यो भने जनतामा नयाँ चेत पलाएको छ । तीव्र रूपमा आर्थिक समृद्धि नगरी हुँदैन, हामीलाई १०औँ वर्ष लगाउने समय छैन भन्ने सोच पायौँ ।
यही एकदुई दशकभित्रै बेरोजगारी, गरिबीमुक्त सम्मुनत आर्थिक–सामाजिक संरचना निर्माण गर्नुपर्छ भन्ने चाहना जनस्तरमा छ । त्यसलाई हामीले ठीक ढंगले सम्बोधन गर्न छिट्टै विकल्प दिन सक्छौँ ।
तपाईं पार्टी बनाउने अभियानमा लागिरहनुभएको छ । तर, तपाईंकै नेता, सांसदहरू पार्टी छोडिरहेका छन् । यो चालाले वैकल्पिक शक्ति बन्न सक्नुहुन्छ त ?
त्यो सत्य होइन । अनावश्यक प्रचार गरेर उहाँहरूले हेलिकोप्टर बोकेर पद र पैसाको प्रलोभनमा पारेर जानुभयो र रित्तो हात फर्किनुभयो । मिडियाले पनि भनिरहेको छ । त्यो पुराना शक्तिहरूको खेल फोहोरी र घिनलाग्दो थियो । त्यसकै विकल्प हामीले दिन खोजेको हो ।
त्यस्तो मान्छे नै किनबेच गर्ने राजनीति होइन, समाज रूपान्तरण गर्ने नयाँ मूल्य र मान्यताको असल राजनीति गर्नुपर्छ भन्ने हो । त्यसका लागि केही समय लाग्छ । अन्तिममा सत्य र न्यायको विजय हुनेछ ।
२० फागुन २०७५ को नयाँ पत्रिका दैनिकबाट साभार