गोरखा- राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकि छिन् ।
गोरखाको शहीद लखन गाउँपालिका–२, मनकामनामा आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म पूजाको उद्घाटन गर्दै उनले मनकामना र आसपासको क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिएकि हुन्।
‘यहाँ वरपर ओझेलमा परेका अन्य ऐतिहासिक र धार्मिक सम्पदाको उजागर गरी वृहत धार्मिक पर्यटकको केन्द्र बनाउन सके यहाँ आफ्नै ठाउँमा रोजगारीको अवसरसमेत सिर्जना हुनसक्छ ।’, उनले भनिन् ।
सरकारको आर्थिक र प्राविधिक सहयोगमा जनताबाटै अधिक रकम सङ्लकन गरी ऐतिहासिक मनकामना मन्दिर निर्माण हुनु सरकार र जनताबीचको सहकार्यको एउटा उदाहरणीय नमूना भएको उल्लेख गरिन् । ‘२०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको मन्दिर जिर्णोद्धारको पर्खाइएको थियोु, उनले भनिन्, ‘तपाई जनसमुदायको सहकार्यमा पुनःनिमार्ण भएको छ, यो खुशीको कुरा हो ।’
उनले जनता सक्रिय भए आफ्नो क्षेत्रको विकास आफै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मनकामना मन्दिरको पुनःनिर्माणको कार्यले देखाएको भन्दै उनले भनिन् ‘नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो, हामीले हाम्रो संस्कृति, परम्परा, रीतिरीवाजलाई संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।’
नेपाली सेनाका हेलिकप्टरबाट मनकामना पुगेकि राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजासमेत गरिन् । पुनःनिर्माण सम्पन्न भएसँगै गत मङ्सिर १२ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको भए पनि उपयुुक्त पूजा साइत नभएकाले रोकिएको दशकर्म पूजासमेत आजै गरिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए ।