गाेरखा- अजिरकोट गाउँपालिका विगत केहि समय यता गाउँपालिका केन्द्रको विषयमा अत्यन्तै चर्चामा आउन थालेको छ । केन्द्रको विषयलाई लिएर घर, गोठ, सडक, चौतारा, हाट बजार, मेलापात, कार्यालय आदि सबै स्थानमा बहस सुनिन थालेको छ ।
विगत २५ महिना पहिले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित गरि केन्द्र तोकिसकेको र निर्विकल्प केन्द्रको रूपमा भच्चेक बजार रहदै आएको तथा स्थानीय निर्वाचन भएको पनि २३ महिना भइसकेको अवस्थामा हाल आएर गाउँ कार्यपालिकाको बहुमतको दम्भको आड्मा जग्गा विवाद भन्दै पालिका केन्द्र स्थानीय सरकार सन्चालन ऐन २०७४ को कानुनी बाटो बिपरित गइ भुमाफियाहरुको मिलेमतोमा सोही गाउँपालिकाको नम्किमा सार्न खोजिएको छ ।
सम्बन्धित समाचार- अजिरकाेट गाउपालिकाकाे केन्द्र सार्न ‘चलखेल’
यसै विषयलाई लिएर वडा नम्बर १ र वडा नम्बर ५ का जननिर्वाचित प्रतिनिधिहरुले विमति जनाउदै ज्ञापन पत्र बुझाएका छन् । जसमा आफुहरु जन निर्वाचित प्रतिनिधि भएको र जनहित र कानुन विपरीत कुनै पनि काम गर्न नसक्ने तथा बन्द कोठाभित्र गरिने कुनै पनि निर्णयमा असहमति रहेको जनाइएको छ ।
यसैगरी गाउँपालिका केन्द्र सार्ने विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), अजिरकोट गाउँपालिकाले पनि व्यापक असन्तुष्टि जनाउँदै गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएको छ ।
नेकपा अजिरकोटका अध्यक्ष दीपक देवकोटाद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएकाे छ ‘विगत २५ महिना पहिले नेपाल सरकारद्वारा केन्द्रको विषयमा राजपत्रमा प्रकाशित गरि सकेको र निर्विकल्प केन्द्रको रूपमा भच्चेक रहदै आएको, सम्पुर्ण पुर्वाधारहरु समेत तयार भइरहेको, भौगोलिक हिसाबले पनि केन्द्र भागमा पर्ने चिरपरिचित ऐतिहासिक भच्चेक बजारबाट स्थानीय निर्वाचन पश्चात जनतालाई सेवा दिने काम समेत २३ महिना यता भइरहेको अवस्थामा हाल आएर गाउँ कार्यपालिकाको बहुमतको दम्भको आड्मा आ-आफ्ना अभिष्ट पूरा गर्ने दाउमा जग्गा उपलब्ध नभएको वा विवाद भन्दै विभिन्न भूमाफिया दलालिहरुको मिलेमतोमा गाउँपालिका केन्द्र स्थानीय सरकार सन्चालन ऐन २०७४को कानुनी बाटो बिपरित गइ तल माथि सार्न खोजिएकोमा नेकपा अजिरकोटले गम्भीर ध्यानाकर्षण भएकाे छ ।’
पत्रमा भनिएकाे छ ‘उक्त दुस्प्रयासलाई अगाडि नबढाउन सुझाएको छ भने यदि नियम विपरीत गाउँ पालिका केन्द्र सारिएमा भविस्यमा अनिष्ट हुने समेत संकेत दिएको छ । हामिलाई प्राप्त सूचनाको आधारमा आम अजिरकोटबासिहरु भच्चेक निर्विकल्प केन्द्र भएको र भौगोलिक रुपले पनि केन्द्र भएको तथा भच्चेक वरिपरि आवस्यक जग्गाको व्यवस्था समेत भइसकेको तर गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष लगायत केही निहित बर्गहरुको जिद्दी तथा लिडेढिपि र स्थानीय सत्ताको दम्भले साबिक स्थान भन्दा अन्यत्र विशेष गरि नम्की वा सिरान डाडामा सार्न लबिङ गरेको बताउँछन् ।’
अर्कोतिर अध्यक्षका पक्षमा लागेर केन्द्र सार्न लबिङ गर्नेहरू भने वडा नम्बर १, २ र ३ लाई पायक पर्ने स्थान सिरान डाडामुनि र नम्की माथी केन्द्र हुनुपर्ने भन्दै भच्चेकबासीहरु केवल व्यापारीक मानसिकताबाट माथि उठ्न नसकेको, कुनै सहयोग नपाएको र कार्यालयहरु स्थापना गर्ने प्रयाप्त जग्गा नभएकोले यो कदम उठाइएको दाबी गरिरहेका छन् तर भच्चेकवासिहरु भने यस भनाइलाई ठाडै अस्वीकार गर्दै गाउँपालिका अध्यक्षको नम्किको जग्गावालासगको सम्बन्ध र निहित स्वार्थका कारण यस्तो अवस्था सिर्जना हुन गएको बताउँछन् ।