गोरखा- लैङ्गीकता र अपाङ्गतामा आधारीत घरेलु हिसां न्युनिकरणका लागि सातबुँदे घोषणा पत्र जारी गरिएको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र ठाँटीपोखरी इलाका प्रहरी कार्यालयले लैङ्गिकता र अपाङ्गगतामा आधारित घरेलु हिंसा न्युनिकरणका लागि प्रतिबद्धता सहित घोषणापत्र जारी गरेका हुन् ।
घोषणा पत्रमा उचित संरक्षणको अभावले गर्दा हिंसा पिडितबाट घटनाहरु उजुरी नहुने साथै उजुरी भएको घटनाहरु पनि फिर्ता हुने हुदाँ पिडित संरक्षणकोे लागि स्थानिय निकायले पहल गर्ने लेखिएको छ । लैंगिक हिंसा पिडित पुर्नस्थापनाको लागि आवश्यक कोषको स्थापना, सुरक्षित सुनुवाईको लागि इजलासको व्यवस्थापना गरी हिंसा प्रभावितलाई तत्काल संरक्षण र उचित न्यायको व्यवस्था गर्न पनि तिनवटै स्थानिय तहको न्यायिक समितिका संयोजकहरुले प्रतिबद्धता गरेका छन् ।
समुदायमा भएका लैंगिक हिंसाका घटनालाई सम्बन्धित निकाय सम्म पुग्ने वातावरण बनाउन न्यायिक समितिले सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गर्ने भएको घोषणा पत्रमा उल्लेख छ ।
यस्तै, पिडित तथा सेवाग्राहीलाई हिंसा सम्बन्धि कानूनी प्रावधानका बारेमा जानकारी गराइ न्यायको पहूँच अभिवृद्धि गर्ने, हिंसा प्रभावितहरुको जीविकोपार्जन सुधारका लागि सिफारिस प्रणालीका मध्यमबाट विभिन्न निकायहरुको सहकार्यमा सहयोगका लागि पहल गर्ने निर्णय भएको छ । प्रहरी र न्यायीक समितिको सहकार्यमा घटनाको प्रकृति अनुसार पिडकलाई कानुन अनुसार कारबाही गर्न समन्वय गर्ने पनि न्यायिक समिति र प्रहरीले पतिबद्धता गरेका छन् ।
लैंगिक हिंसा पिडित अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणको लागि स्थानिय तह र प्रहरीले विशेष पहल गर्ने पनि उनिहरुको प्रतिबद्धता छ । कार्यक्रममा सहभागीहरुले महिला तथा बालिकामाथी हुने यौन दुब्र्यबहारको घटना न्युनिकरण गर्न, घरेलु मदिराका कारण हिंसा बढेकाले यसको रोकथाम गर्न, सहज रुपमा न्याय पाउने वातावरण बनाउन माग गरेका थिए ।
कार्यक्रममा पालुङटार नगरपालिकाको न्यायिक समितिकी संयोजक पम्फा बसेल, बारपाक सुलिकोट गाउँपालिकाको न्यायिक समितिकी संयोजक सनमाया गुरुङ र सिरानचोक गाउँपालिकाका न्यायिक समितिकी संयोजक रीता देवकोटा र पालुङटार नगरपालिकाका कानुनी सल्लाहकार दिपक कुमार श्रेष्ठले सहभागीले उठाएका प्रश्न, जिज्ञासा तथा गुनासोबारे स्पस्ट पारेका थिए ।
पालुङ्गटार नगरपालिका, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, स्बाँरा सघन गाउँ बिकास केन्द्र, नेपाल अपाङ्ग महिला संघ, अन्तरपार्टी महिला संजालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वाँरा सघन गाउँ विकास केन्द्रका कार्यक्रम संयोजक विकास ढुंगाना र केयर नेपालकी लैङ्गिक संरक्षण अधिकृत पम्फा पुरीले अन्तराष्ट्रिय महिला दिवसको महत्व, महिला माथि हुने हिंसाको स्थिति र कार्यस्थलमा हुने हिंसा लागयतका विषयमा प्रतिवेदन पेश गरेका थिए ।