गाेरखा- कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ ।
जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलाएन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्धका साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ ।
कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वास गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जीव बली दिएर पूजा गरेको देखिन्छ । जिवबलीमा राँगा, बोका, सुँगूर, कुखुरा, हाँस आदी पशुपंक्षीहरूको बलि दिएर पूजा गरिन्छ ।
जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने रहेको छ । [१] तर हिन्दूधर्मको पवित्र धार्मीक ग्रन्थ गिता र श्रुतीमा हिंसा गर्नु महापातक हुने कुरा भनिएकोले कुलायन पूजा गर्दा दुध, खिर, फलफूलको भोग लगायर पूजा गर्नु पर्छ भनिएको छ । यस्तै मध्य बयलकोटी सार्की जातिहरुको कुल पुजाको छोटो प्रसङ्ग यहाँ आएको छ ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-५, मुच्चोकमा रहेका बयलकोटीहरुको कुल पुजाको रोचक प्रसङ्ग छ । विशेष गरि ५/५ वर्षमा गरिने पुजामा मुल गुरु वा डाङ्ग्रेले पुजा घरदेखि कुलायन थानसम्म काम्दै एक खुट्टा उचालेर नाच्दै पन्चे बाजाको तालमा पुगेर थान परिक्रमा गरि पुजा गरि बोका बलि दिने र नियम र भाकल गरि दर्जनौं बोकाको मार हान्ने बित्तिकै रगत भुइँमा खस्न नपाउदै डाङ्ग्रेले मुख लगाएर खाने अनि पालै पालो गर्दै सबै बलि दिइएका बोकाको रगत भुइँमा खस्नै नपाउने वा डाङ्ग्रेले खाने चलन अचम्मको छ ।
पुजा सकिए पछि नाच गान गर्ने इष्ट मित्र आफन्त थानमा नै रमाइलो गर्ने र बाजागाजा सहित पुजा सामग्री र डाङ्ग्रे बीचमा राखी फर्कने र डाङ्ग्रेकै घरसम्म एक खुट्टा उचालेर नाच्दै आएर काम्ने पुजा कस्तो भयो सोध्ने र डाङ्ग्रेले देवताको रुपमा उत्तर दिने अनि सामग्री थन्क्याएर उहीँ राख्ने अनि भोज भतेर गर्ने चलन यस जातिको कूल पुजामा पाइन्छ ।
सधैं जसो मदिरा सेवन गर्ने यस समुदाय पुजाको ३ दिन पहिले देखि मदिरा निशेध गरि पबित्र रहने चलन छ । उक्त जातिको देवता ब्राह्मण भएको भन्ने किम्बदन्ती छ । एकजना बाहुनको छोरा पालिएको र माटाको ढिस्कोले पुरिएर उनको निधन भएको पुरिदा उनको एउटा खुट्टा देखिएको र पछि उनैको आत्मा बोलेर सम्पुर्ण बेलिविस्तार लाएको त्यसै भएर एक खुट्टा उचालेर थानमा गएको भन्ने गरिन्छ ।
पुजा विधि, बोकाको बलि, मदिरा निशेध आदि प्रचलनले ब्राह्मण जाती नै बयलकोटिहरुको देवता भएको बुझ्न सकिन्छ । उक्त जातिका केही अग्रजहरुले बताए अनुसार यसअघि जिमनी सार्की, हिरामनी सार्की, आइते सार्की डाङ्ग्रे भएको क्रमशः उनिहरुको निधन पश्चात केही समय खाली हुन गइ पुजा हुन नसकेको र यस वर्ष सोही समुदायका दल बहादुर बयलकोटिको आङ्मा कूल देवता बोले पछि पहिलो (बोल) पुजा भएको बताइन्छ ।
मङ्सिर पुर्णिामामा गरिने पुजा यस पटक पनि धुमधामसग भएको थियो । यश पटक बोल पुजा भएको र अर्को वर्ष नियमित पुजा हुने भनिएको छ केही बयलकोटिहरु बसाइँसराइ गरेर गएको तथा केही कृश्चियन धर्ममा लागेका कारण पहिलेको तुलनामा कम सहभागिता भए पनि अत्यन्तै अनौठो संस्कार यस जातिको कूल पुजाको क्रममा देखियो ।
यसको एक झलक हेरौं त ।