काठमाडौं- गत जेठ २ गतेदेखि श्रम मन्त्रि गोकर्ण बिस्टको दम्भका कारण एकतर्फी रुपमा बन्द भएको मलेसिया रोजगारी अन्तत सोमबारदेखि खुल्ने भएको छ ।
अहिले कलिङ भिषा आएका कामदारहरुको लागि मात्र रोजगारी खुल्ने जनाईएको छ । गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको कामदार आदान प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारी अनुसार सोमबारदेखि यसअघि कलिङ भिसा आएका कामदारलाई अन्तिम श्रम स्वीकृति दिइने भएको हो ।
कलिङ भिषाको अन्तिम स्वीकृति खुला भएको नेपाल वैदेशिक रोजगार ब्याबसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । श्रम मन्त्रालयले कलिङ भिषा खोलिएको पत्र संघलाई उपलब्ध गराएको उनकाे भनाइ थियाे । केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि मेनपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो ।
सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजार ८ सयभन्दा बढी रहेको बताइएको थियो । तर, अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या केहि घटेको श्रम मन्त्रालयले जनाएकाे छ । कलिङ भिषा आएकाहरुको अन्तिम स्वीकृतिको सहजिकरणका लागि संघमा सम्पर्क राख्न मेनपावर व्यवसायीहरुसँग अध्यक्ष गुरुङले आग्रह गरे ।
मलेसियाको रोजगारी खुलाउन संघले अन्तिम अबस्थामा राजनीतिक लबिङ्ग गर्दै आएको थियो । अध्यक्ष गुरुङले अहिले पहिला कलिंग आएकाहरूको लागि रोजगारी खोलिएको र निकट भविष्यमै मलेसिया रोजगारी पूर्ण रुपमा सुचारु गराउन संघ लागि परेको बताए । अहिले मलेसिया रोजगारी पुरानै तबरले सुचारु हुने भएको हो ।