गोरखा – भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक सँगैको अर्को गाउँ हो लाप्राक। २०७२ सालको भूकम्पमा परी चिटिक्क परेका परम्परागत घरहरुले भरिएको यो बस्ती ध्वस्त भयो।
भूकम्पसँगै पहिरोले चिराचिरा परेको लाप्राकको पुरानो बस्ती रहेको गाउँ छियाछिया बन्यो। स्थानीय त्रसित भए। त्यसपछि सिंगो गाउँ नै लाप्राकभन्दा २७ किलोमिटर माथि गुप्सिपाखामा सार्ने तयारी भयो। भूकम्पपछि स्थानीय उक्त सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर बस्न बाध्य भए।
यसरी विचलित भएकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गुप्सिपाखाकै उक्त ठाउँमा सबै लाप्राकीलाई घर बनाइदिने घोषणा गर्यो।
२०७३ असोज २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बस्तीको शिलान्यास गरे। १२ महिनामा उक्त बस्ती निर्माण सक्ने लक्ष्य राखियो।
त्यसपछि लाप्राकी पुरानै बसोबास थलोमा फर्किए। नयाँ घर एनआरएनले छिट्टै बनाइदेला भन्ने उनीहरुको अपेक्षा थियो।
तर भूकम्पको चौथो वर्ष पूरा हुँदासम्म लाप्राकीले घर पाएका छैनन्। घर नै तयार गरेर एनआरएनले दिने सम्झौता भएपछि घर कुरेर लाप्राकी बसिरहेका छन्।
अहिले लाप्राकको गुप्सिपाखामा धमाधम घर निर्माणको काम अन्तिम चरणमा भइरहेको छ।
स्थानीयले पुनर्निर्माण छिटो सिध्याउन सघाइरहेका छन्। नेपाली सेनासँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, सानातिना काम सिध्याउने तरखरमा तल्लीन छन्।
करिब एक सय ५० नेपाली सेनाको साथ र स्थानीयको सहयोगमा धार्चे गाउँपालिकाको लाप्राकस्थित गुप्सिपाखामा एकीकृत नमुना बस्ती बनिरहेको छ।
एनआरएनले निर्माण गरिरहेको बस्ती निर्माणको काम अन्य सिजनमा भन्दा अहिले गतिशील रुपमा अघि बढेको छ। यहीबीच एनआरएनले स्थानीयलाई भाग लगाएर घर जिम्मा दिएकाले बस्ती निर्माणको काम अघि बढेको हो।
बैसाख महिनासम्म सबै घर निर्माण गरिसक्ने लक्ष्य एनआरएनको छ। निर्माण गर्नुपर्ने ५ सय ७३ घर मध्ये ५ सय वटा घरको पहिलो तल्लाको काम सकिएको छ। एक सय २५ घरको दोस्रो तल्ला र ३ सय ७० घरको ट्रस्ट राख्ने काम भइसकेको एकीकृत बस्तीका इन्जिनियर लक्ष्मण आर्यालले बताए।
एनआरएनका पूर्वअध्यक्ष शेष घलेले आफ्नै कार्यकालभित्र घर दिने घोषणा गरेका थिए। तर सम्भव नभएपछि अहिलेका अध्यक्ष भवन भट्टले बैसाखसम्म सिध्याएर हस्तान्तरण गर्ने बताएका छन्।
दुर्गम, ढुवानी समस्या, कामदार अभाव, मौसमको प्रभावका कारण काम गर्न समस्या भएको एनआरएनको जवाफ छ।
गोरखा सदरमुकामबाट कच्ची सडक हुँदै लाप्राक पुग्न सकिन्छ। बर्सातको चार महिना यहाँ सवारी चल्दैन। अन्य समयमा भने जसोतसो ट्याक्टर, जिप चल्ने गरेको छ। जोखिमयुक्त ग्रामीण सडक भएका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो।
सबै नेपाली सेना काममा दक्ष र स्थानीय पनि तालिम प्राप्त छैनन्। जसका कारण घर निर्माणमा ढिलाइ भएको उसको तर्क छ।
एनआरएनले दक्ष कामदार लगेर काम गराउन सकेको भए बस्ती निर्माण काम उहिल्यै सकिने थियो। घर ढिला निर्माण भए पनि बलियो र स्तरीय हुने अपेक्षामा स्थानीयहरु पर्खिरहेका छन्।