मुच्चाेक (गाेरखा)- स्वास्थ्य चौकी भवन निर्माण भएको ४ वर्ष भइ सक्दा पनि अजिरकोट नेपाली कांग्रेस नेताको निहित स्वार्थका कारण जग्गा पास नभएकाे गाेरखा सन्देशले फेला पारेकाे छ ।
जिल्ला स्तरका नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी धितालले पूर्व सहमति विपरीत जग्गाको मूल्य लिइसकेको ४ बर्ष हुदाँ पनि जग्गा पास गर्न आलटाल गरेका हुन् ।
जग्गा सहमति गरि स्वास्थ्य चौकी भवन भुकम्प पश्चात आइ एन एफको आर्थिक सहयोगमा डिजाइनर्स नेपालले निर्माण गरेको अजिरकोट गाउँपालिका-५, मुच्चाेकको मुच्चाेक स्वास्थ्य चाैकीकाे जग्गा पास नहुदाँ समस्यामा भएकाे छ ।
हाल स्वास्थ्य चौकीको उक्त जग्गा पास गर्न आग्रह गर्दै स्थानीयहरु आक्रोशमा आई एक हप्ताको अल्टिमेटम दिदा पनि धिताल भने आलटाल गर्दै विभिन्न बहाना बनाई जग्गा पास गर्न तयारीमा छैनन् ।
उक्त स्वास्थ्य चौकिको बाकी जग्गा पास भइ सकेको तर धिताल मार्फत स्वास्थ्य चौकीले लिएको जग्गा भने उनकै लापरबाहीका कारण पास हुन नसकेको हो ।
पटक-पटक आग्रह गर्दा कहिले जेठो छोरा दीपक धितालको नाममा त कहिले माइला छोरा सुरेश धितालको नाममा जग्गा भएको र छोराहरु बाहिर भएको भन्दै जग्गा पास गर्न आनकानी गरि सम्पर्कमा समेत आउन नचाहेको स्थानीयहरु बताउछन् ।
अहिले तमाम नागरिक समाज नै उनको कदमदेखि अचम्ममा परेका छन् । जुनसुकै योजनाको उपभोक्ता समितिको प्रमुख पदमा बस्न रुचाउने धिताल कांग्रेस बृत्तमा मुच्चोकका निष्ठावान र अडान भएका नेता भनिन्छन ।