काठमाडौं- सरकारले धादिङ र गोरखाको सीमा क्षेत्रमा निर्माण हुने बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेकाे बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनलाई विशेष प्राथमिकता राखेर बजेटले १२ सय मेगावटको बूढीगण्डकी जलविद्युत आयोजनाको प्रकिया आगामी आर्थिक वर्षदेखि अघि बढाउने गरी तयारी गरेको छ ।
राष्ट्रिय गौरवको यो आयोजना कसले कसरी बनाउनेबारे अझै अन्योल छ। बूढीगण्डकी आयोजना भित्र पर्ने गोरखा र धादिङका स्थानीयलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिसकेको अवस्थामा काम छिटो थाल्न सरकारमाथि दबाब बढेको छ।
बूढीगण्डकी आयोजना निर्माणका लागि भन्दै उठाइएको पेट्रोलियम करबाट मात्रै सरकारको कोषमा २५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ। बूढीगण्डकी आयोजना सवा २ खर्ब रुपैयाँमा निर्माण पुरा हुने प्राम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ।
१२ सय मेगावाट बिजुली उत्पादन गर्न पृथ्वीराजमार्गको बेनीघाटबाट उत्तर तर्फ २ किमी टाढाको दुरीमा गोरखाको घ्याल्चोक र धादिङको सलाङ गाविसको बिचमा २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको बाँध निर्माण हुने छ ।
धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुढाथुम गाविसको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन् ।
गाेरखातर्फ भीमसेन थापाको बगौचा, पृथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन् ।