काठमाडौँ- सत्तारुढ दल नेकपाका नेता हरिराज अधिकारी ‘कुमार’ले पूर्वसहमतिका आधारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी र सरकारको नेतृत्व संयुक्त रुपमा गर्ने लिखित सम्झौता कार्यान्वयन हुने अधिकारीको विश्वास छ ।
प्रतिनिधि सभाका लागि गोरखाबाट निर्वाचित सांसद अधिकारीले भने, ‘जिम्मेवार नेताहरुबीचमा लिखित रुपमा भएको सम्झौताको पालना गरे मात्र एकताको मर्मवोध गरेको ठहर्छ । लिखित सहमति सत्ताको खेल नभई पार्टी एकताको दस्तावेज हो ।’ सहमति विरुद्ध उभिनेहरु एकताविरोधी भएको समेत उनले ठोकुवा गरे ।
पार्टी एकतापछिको विचारबारे प्रष्ट पार्दै अधिकारीले तत्कालीन जनताको बहुदलीय जनवाद (जवज) र एक्काइसौँ सताव्दीको जनवादको ‘ह्याङ’बाट मुक्त हुन समेत नेता/कार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ‘माओवादीको हेटौँडा महाधिवेशन र एमालेको नवौँ महाधिवेशनको भावलाई पक्डेर जनताको जनवादमा जाने भन्ने पार्टीको आधिकारीक नीति हो । यसले लिएको ‘लाइन’ ध्यान नदिई पुरानै विचारका आधारमा अभिव्यक्ति दिनु ठीक होइन ।’
सांसद अधिकारीले बहुआयामिक राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजनाको काम अगाडि नबढेकोमा पनि चिन्ता व्यक्त गरे । ‘स्थानीय जनता आशंकित र आक्रोशित भइरहेका छन्, छिटो काम हुनुपर्यो भनेर दवाब दिइरहेका छन्’ उनले भने, ‘कर्मचारीतन्त्र र राजनीतिका दलालले काम रोकिरहेका छन् ।’
बुढीगण्डकी परियोजना समयमै बनाउन सदनमा समेत माग गर्दै आएको अधिकारीले बताए । सोको लागि आफूले शीर्ष नेताहरुलाई समेत दवाब दिइरहेको र नेकपाका अध्यक्ष प्रचण्डले विशेष चासो दिइरहेको समेत उनले खुलाए । मुआव्जा सम्बन्धि काम गतवर्ष नै सकिनुपर्नेमा कर्मचारीतन्त्र र राजनीतिक दलालका कारण काम अगाडि नबढेको उनको भनाई छ ।
परियोजना अनुसार बुढीगण्डकीमा मानवनिर्मित संसारकै १६ औँ ठूलो ताल बन्छ । जुन फेवातालभन्दा चार गुणा ठूलो हो । यसले पर्यटन, जलयातायत, विजुली, सिंचाई खानेपानी लगायत अनकौँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ । करिब ३ खर्ब रुपैयाँको यो परियोजनाबाट १२०० मेघावाट विजुली निस्कन्छ ।