काठमाडौं- साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका हुन् । गत वर्ष बढेको मूल्य घटाउने क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।
सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो । त्यस आधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए ।
त्यसबेला सञ्चारमन्त्री गोकुल बास्कोटाले कानून संशोधन गरेर इन्टरनेट सेवा प्रदायकलाई रहात दिने प्रतिवद्धता जनाएका थिए । तर, एक वर्षसम्म पनि प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले साउनदेखि २० प्रतिशत मूल्य बढाउने बताएका छन् ।
‘हामीले सहमति कार्यान्वयनका लागि पटक–पटक सञ्चार मन्त्रीलाई भेट्यौं तर, पार लागेन’ इन्टरनेट सेवा प्रकायक संघका अध्यक्ष भोजराज भट्टले भने, ‘जम्मा ८ प्रतिशत नाफाको मार्जिन भएको व्यवसायालई थप १३ प्रतिशत कर लगाउँदा पनि हामीले एक वर्षसम्म सह्यौं । अब त्यो अवस्था छैन ।’
संघले बढाएको १३ प्रतिशत शुल्क र मूल्य समायोजन नगर्दा भएको घाटा ७ प्रतिशत जोडेर २० प्रतिशत बढाउने उनीहरुको दाबी छ ।
गत वर्ष सरकार र व्यवसायीबीच ग्राहकलाई दिइने इन्टरनेट सेवाका उपकरणको बिलिङ छुट्टै गर्न सकिने र त्यसमा दूरसञ्चार सेवा शुल्क नलगाउने सहमति भएको थियो । तर कार्यान्वयन नभएको संघको दाबी छ ।