गाेरखा- २०७२ साल बैशाख १२ मा जिल्लाकाे बारपाक केन्द्रबविन्दु भएर गएकाे विनाशकारी भूकम्प गएको ४ वर्ष वितेको सकेकाे छ । जिल्लामा भूकम्पले ध्वस्त भएका वस्तीहरु पुननिर्माण हुने क्रम जारी छ ।
भूकम्पसँगै पहिरोले चिराचिरा परेको लाप्राकको पुरानो बस्ती रहेको गाउँ छियाछिया बन्यो। स्थानीय त्रसित भए। त्यसपछि सिंगो गाउँ नै लाप्राकभन्दा २७ किलोमिटर माथि गुप्सिपाखामा सार्ने तयारी भयो। भूकम्पपछि स्थानीय उक्त सार्वजनिक जग्गामा अस्थायी टहरा हालेर बस्न बाध्य भए।
यसरी विचलित भएकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गुप्सिपाखाकै उक्त ठाउँमा सबै लाप्राकीलाई घर बनाइदिने घोषणा गर्यो। २०७३ असोज २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बस्तीको शिलान्यास गरे। १२ महिनामा उक्त बस्ती निर्माण सक्ने लक्ष्य राखियो।
त्यसपछि लाप्राकी पुरानै बसोबास थलोमा फर्किए। नयाँ घर एनआरएनले छिट्टै बनाइदेला भन्ने उनीहरुको अपेक्षा थियो। तर भूकम्पको चौथो वर्ष पूरा हुँदासम्म लाप्राकीले घर पाएका छैनन्। घर नै तयार गरेर एनआरएनले दिने सम्झौता भएपछि घर कुरेर लाप्राकी बसिरहेका छन्।
अहिले लाप्राकको गुप्सिपाखामा धमाधम घर निर्माणको काम अन्तिम चरणमा भइरहेको छ। स्थानीयले पुनर्निर्माण छिटो सिध्याउन सघाइरहेका छन्। नेपाली सेनासँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, साना तिना काम सिध्याउने तरखरमा तल्लीन छन्।
करिब एक सय ५० नेपाली सेनाको साथ र स्थानीयको सहयोगमा धार्चे गाउँपालिकाको लाप्राकस्थित गुप्सिपाखामा एकीकृत नमुना बस्ती बनिरहेको छ। एनआरएनले निर्माण गरिरहेको बस्ती निर्माणको काम अन्य सिजनमा भन्दा अहिले गतिशील रुपमा अघि बढेको छ। यहीबीच एनआरएनले स्थानीयलाई भाग लगाएर घर जिम्मा दिएकाले बस्ती निर्माणको काम अघि बढेको हो।
गुप्सीपाखामा निर्माणाधिन लाप्राक नमुना बस्तीको गैरआवासीय नेपाली संघको टोलीले गत विहिवार अवलोकन गरेको छ । अवलोकनपछि संघका अध्यक्ष भवन भट्टले भूकम्प पीडितको लागि निर्माण गरिएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने बताए ।
अध्यक्ष भट्टले बस्तीको रंगरोगनसहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको बताउँदै छिट्टै हस्तान्तरण गर्ने बताए । ०७२ सालको गोरखा भूकम्पपछि लाप्राकमा ५ सय ७३ घरको निर्माण सुरु गरिको थियो । प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको छ ।
तर, स्थानिय भने अहिले पुरानो थाकथलोमा नै बसोबास गर्दै आएका छन् । एनआरएनले बनाउदै गरेको घरहरूमा सिङ्गो परिवार बस्ने नमिल्ने भन्दै उनीहरू पहिरो र भुकम्पले चिरेको पुरानो गाउमा नै बस्दै आएका छन् ।