गाेरखा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस गोरखाको दोस्रो गोरखा नगरसभालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय गौरवको आयोजनामा नेपाली जनताको लगानी भएमा त्यसको दीर्घकालीन फाइदासमेत नेपाली नै लिन पाउने भन्दै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिन नहुने बताए ।
उनले भने, ‘नेपालीसँग पैसा छ, नेपाली जनतालाई नै लगानीको अवसर दिनुपर्छ ।’ देउवाले चिनियाँ गोजुवा कम्पनी समयमा आयोजना निर्माण गर्ने खालको कम्पनी नभएको भन्दै गोजुवालाई आयोजना निर्माणको ठेक्का दिन नहुने तर्क गरे । उनले विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिनु शङ्कास्पद रहेको दाबी समेत गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्दै कम्युनिस्ट सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।
देउवाले सरकारलाई मिडिया काउन्सिल लगायतका विधेयक पास गर्न नदिन सदन अवरुद्ध गर्ने बताए । देउवाले संसदमा जबर्जस्ती गरे सडकमा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले संसदबाट मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने बताए । देउवाले मानव अधिकार ऐन संशोधन गर्न बनेको विधेयक र गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक पनि पास हुन नदिने समेत बताए । उनले वर्तमान सरकारले सारा कुरा बर्बाद गरेको आरोप लगाए ।
‘खड्गप्रसाद ओलीकाे सरकार आएपछि सारा कुरा बर्बाद भएको छ’, उनले भने, ‘हुँदा हुँदा सेना पनि आफ्नो मातहत राख्न खोजिएको छ ।’ नेपाली सेनालाई प्रधानमन्त्री मातहत नभइ राष्ट्रिय सुरक्षा परिषद् अन्तर्गत राखिनुपर्ने उनले बताए ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्ने बताए । उनले सरकारको क्रियाकलाप हेर्दा अधिनायकवादतर्फ उन्मुख भएको प्रष्ट हुने बताए ।
‘हामीले कालो पञ्चायतलाई त सहेनौं, अब रातो अधिनायकवाद ल्याउने दुस्साहस नगर्नुहोला’, उनले भने, ‘देशमा निर्वाचन नगराई सत्ता कब्जा गर्ने हिम्मत छ ? देशलाई उत्तर कोरिया बनाउने हिम्मत छ ?’