अजिरकोट- अजिरकोट गाउँपालिका-५, मुच्चोक ओलाङ्गको ज्ञान ज्योति आधारभूत विद्यालयमा पैरवी योजना तयारी गोष्ठी सम्पन्न भएको छ ।
नीति नियम निर्माण गर्न, कार्यान्वयन गर्न, आफ्नो सवाल उठाएर समस्याको समाधान गर्न, नीति नियम परिमार्जन गर्न तथा समुदायलाई सशक्तीकरण गर्न गरिने बहस छलफल वा बहस सहितको प्रभावकारी प्रयत्न नै पैरवी हो ।
यिनै सेरोफेरोमा रहि सामाजिक सवालहरुमा केन्द्रीत भइ योजना तयारी गरिने उद्देश्यका साथ भएको उक्त कार्यक्रम आइ एम स्विडिस डेवलप्मेन्ट पार्ट्नरको आर्थिक सहयोग र मेड नेपालको आयोजनामा भएको हो ।
कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष झलप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा वडा अध्यक्ष देवकोटाले अब सबै घर घरमा ट्वाइलेट निर्माण भए नभएको अनुगमन गरिने, बजेट कार्यान्वयनको अनुगमन गरिने तथा महिला बालबालिकाका समस्या बुझिने तथा अब अजिरकोट गाउँपालिकाले `दिगो विकास हाम्रो सोंच, सुन्दर,शान्त र समृद्ध अजिरकोट´ भन्ने नारा तय गरेकोले यसै बमोजिम काम गरिने बताएका छन् ।
मानिस आसे र आस्रित हुन नहुने स्वाबलम्वी हुनु पर्ने भन्दै पानीको कुवा हासले, खेतबारी कासले र मानिस आसले विगार्छ भन्दै आस भन्दा पनि काममा विश्वास गर्नु पर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा अजिरकोट गाउँपालिका सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष एक बहादुर रानाले पैरवीको बारेमा बताउदै समाजमा बन्यजन्तुहरु बादर, बाघ आदिको समस्या बढेकोले बन्यजन्तु नियन्त्रणका उपाय र वर्तमान नियम तथा प्रावधानबारे उल्लेख गरेका थिए ।
कार्यक्रमको प्रशिक्षण भिम परियार तथा मेड नेपाल मुच्चोकका संयोजक सन्जु लामिछानेले गरेका हुन् भने कार्यक्रमको सहजीकरण मेड नेपालकै कृषि प्राबिधिक टीका बरुवाल तथा सामाजिक परिचालक कृष्ण कुमारी भट्टराईले गरेका थिए ।
समस्या पहिचान र प्राथमिकिकरण, पैरवी योजना निर्माण, पैरवी योजना कार्यान्वयन, अनुगमन र मूल्यांकन जस्ता विभिन्न सन्दर्भमा प्रष्ट पार्दै कार्यक्रममा अति गम्भीर र गम्भीर गरि दुई प्रकृतिका समस्यामाथी छलफल गरि पैरवी योजनाको तयारी गर्न सहभागीहरुलाई अभ्यास गराई अनुसरण गर्ने प्रतिबद्धता समेत गराइएको छ ।