काठमाडाैं- उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा कसैलाई नदिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले अहिलेसम्म बुढीगण्डकी निर्माणको जिम्मा कसैलाई नदिएको बताएका हुन् ।
विपक्षी दलका सांसदहरुले काँग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना नेपालकै लगानीमा गर्ने निर्णय गरेको स्मरण गराउदै फेरि किन चिनिया कम्पनी गेजुवालाई दिने निर्णय गरेको भन्दै प्रश्न गरेका थिए ।
तर, ऊर्जामन्त्री पुनले सरकारले भने अनुसार सो कम्पनीसंग ५ महिना अघि ३ चरणमा छलफल भए पनि निर्माण गर्ने गरी कुनै सम्झौता नभएको जवाफ दिए ।
‘अहिले कुनै पनि सम्झौता भएको छैन, हामी उपयुक्त मोडालिटीमा अगाडि बढ्छौं’, उनले भने । यसअघि मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा बनाउने निर्णय गर्दै त्यसको मोडालिटी निर्माणको जिम्मा ऊर्जा मन्त्रालयलाई दिएको थियो ।
उर्जामन्त्री पुनले ईपीसीएफ मोडलमा बुढीगण्डकी आयोजना बनाउन सकिन्छ कि भनेर छलफल सुरु गरेको भन्दै चलखेल र अनियमितताको आरोपमा सत्यता नभएको बताए ।