गाेरखा- शहीद लखन गाउपालिकाले ५९ करोड बराबरकाे बजेट सार्वजनिक गरेकाे छ । गाउँसभाले पारित गरेको बजेट गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष रमेश थापा मगरले सार्वजनिक गरेका हुन् ।
पूर्वाधार विकासलाई प्राथमिकता दिदै गाउपालिकाले आर्थिक बर्ष २०७६/७७ को लागि ५९ करोड ६२ लाख ५९ हजार एक सय ५८ रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले पूर्वाधार विकासका लागि १५ करोड ४० लाख ५१ हजार रुपैयाँ, आर्थिक विकास तर्फ दुई करोड ६ लाख रुपैयाँ, कृषि विकास कार्यक्रम तर्फ ५८ लाख रुपैयाँ र पशु सेवा कार्यक्रमको लागि ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिको मुख्य सडकको स्तरोन्नती र गाउँ टोल स्तरमा सडक विस्तार गर्न सात करोड ८८ लाख रुपैयाँ विनियोजन भएको छ ।
पर्यटन क्षेत्रको विकास र संभाव्यता अध्ययनको लागि एक करोड ४ लाख रुपैयाँ र संस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धन गर्न २९ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।
सामाजिक विकास क्षेत्र तर्फ चार करोड २६ लाख र महिला दलित जनजाति अल्पसंख्यक सिमान्तकृत अपाङ्ग लगायतका लागि ५४ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको अध्यक्ष मगरले जानकारी दिए ।
शिक्षा क्षेत्रको विकासको लागि ९० लाख रुपैयाँ ,स्वास्थ्य सेवाको लागि ४८ लाख रुपैयाँ शुद्ध खानेपानी तथा सरसफाइको व्यवस्थापनको लागि ७३ लाखरुपैयाँ विनियोजन भएको छ । सामाजिक विकासका विविध क्षेत्रको विकासको लागि गाउँपालिकाले एक करोड ३१ लाख रुपैयाँ छुट्टाएको छ ।
गाउँपालिका क्षेत्र भित्र विद्युतिकरण गर्न र मनकामना बजार क्षेत्रमा सोलार बत्ति जडान गर्न १७ लाख रुपैयाँ व्यवस्था गरिएको छ । गाउँपालिकाको कार्यालय भवन, विभिन्न वडा कार्यालय भवनहरु र विभिन्न टोलहरुमा सामुदायिक भवनहरु निर्माण गर्नको लागि चार करोड ८ लाख रुपैयाँ विनियोजन भएको छ ।
पूर्वाधारहरु विकास गर्न र प्रदेश तथा संघीय सरकार सँग साझेदारीमा कार्यक्रम संचालन गर्न तिन करोड २३ लाख रुपैयाँ विनियोजन भएको छ ।
विपद् व्यवस्थापन कोष र विपद् प्रतिकार्य योजना निर्माणको लागि ३७ लाख रुपैया छुट्टाएको अध्यक्ष मगरको भनाई छ । गाउँपालिकाले आगामी बर्ष एक करोड ४२ लाख ५० हजार रुपैयाँ वरावरको आन्तरिक आय हुने प्रक्षेपण गरेको छ ।
बजेट सार्वजनिकिकरण कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरीराज अधिकारीले स्थानीय तह बलियो र अधिकार सम्पन्न भएमात्रै संघियता फल हुने बताए ।