गाेरखा- गोरखा नगरपालिकाले ९४ करोड बराबरकाे बजेट सार्वजनिक गरेकाे छ ।
नगरप्रमुख राजनराज पन्तद्वारा प्रस्तुत आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम तथा उपप्रमुख श्रेष्ठद्वारा प्रस्तुत योजना, कार्यक्रम र बजेट पनि सर्वसम्मतले पास भएकाे हाे ।
आगामि आर्थिक बर्षका लागी उपप्रमुख श्रेष्ठद्वारा ९४ करोड ६८ लाख ८९ हजार ९४० रुपैंयाको बजेट प्रस्तुत भएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा आउँदो बर्ष गोरखा नगरपालिका र बेलायतको ग्रेटर रस्मुर काउन्सिल बीच भगिनी सम्बन्ध स्थापना गर्ने उल्लेख गरेको छ ।
त्यस्तै एक वडा एक नमूना विद्यालय शिक्षाको अवधारणा विकास गर्ने, शिक्षामा भइरहेको नीजिकरण र व्यापारिकरणलाई न्यूनिकरण गर्ने लक्ष्य लिएको छ ।
नीति तथा कार्यक्रममा गोरखा नगरपालिकालाई माछा उत्पादन क्षेत्रको रुपमा विकास गर्ने, मस्र्याङ्दी करिडोरलाई माछा पकेट जोन घोषणा गर्ने, एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गर्ने, प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम पनि घोषणा गरिएको छ ।
त्यस्तै भीमसेन पार्कमा भीमसेन थापाको पूर्ण कदको सालिक स्थापना गर्ने, गोरखा दरबारलाई केन्द्र बनाएर पर्यटकीय मार्ग निर्माण गर्ने, भ्यूटावर निर्माण गर्ने, गोरखकाली रबर उद्योग पुनसंचालनका लागि प्रदेश र केन्द्र सरकारसंग समन्वय गर्ने र गोरखा नगरपालिकामा लगानी बढाउने उद्देश्यले लगानी सम्मेलन गर्ने नीति तथा कार्यक्रम पनि सार्वजनिक भएको छ ।