काठमाडौं– नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई डाटा (इन्टरनेट)को मूल्य घटाउन निर्देशन दिएको छ ।
नियमित (प्याकबाहेकको) मोबाइल इन्टरनेट डाटामा सरकारी कम्पनी नेपाल टेलिकमको तुलनामा ३ गुणा महँगो देखिएको भन्दै प्राधिकरणले एनसेललाई प्रतिएमबी २ रुपैयाँ कायम गर्न निर्देशन दिएको हो ।
यसबाट एनसेलको नियमित डाटा ट्यारिफ प्रतिएमबी ३ रुपैयाँ रहेकोमा एक रुपैयाँ सस्तिनेछ । जब कि टेलिकमको प्रतिएमबी १ रुपैयाँ ट्यारिफ दरमा नियमित डाटा बिक्री गर्दै आएको छ ।
प्रतिएमबी डाटाको मूल्य २५ पैसासम्म घटाउन सकिने भन्दै ट्यारिफ स्वीकृतिका लागि निवेदन दिएको एनसेललाई प्राधिकरणले एक रुपैयाँ घटाउन लगाएको हो ।
अर्को मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले भने प्रतिएमबी डाटाको शुल्क २ रुपैयाँबाट १ रुपैयाँ ५० पैसा कायम गर्न तयार रहेको भन्दै ट्यारिफ स्वीकृतिका लागि प्राधिकरणमा निवेदन दिएको छ ।