गाेरखा- कुनै समय एक मुरि धान फल्ने खेतको नि महत्त्व अर्कै थियो । जसले धेरै धान, मकै , कोदो रोप्छ उहीँ मिहिनेती किसान अनि धनी मानिन्थ्यो । अहिले मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्ने योजना सहित लागेका छन् व्यावसायिक खेती तर्फ गोरखा अजिरकोट, मुच्चोकका युवाहरू पनि कफि, तरकारी, अलैंची अन्य फलफुल तथा उन्नत बोटबिरुवा लगाएर नयाँ ढङगले जुट्न थालेका छन् ।
स्थानीय युवा होम बहादुर गुरुङ, बाबुराम देवकोटा, योगेन्द्र गुरुङ, लगायत अन्य खेतिको तुलनामा दसौँ गुणासम्म बढी आम्दानी हुने भएपछि धेरैले खेतमा धान लगायत परम्परागत बालि रोप्न छोडेका छन् ।
अजिरकोट गाउँपालिका-५ , साविक मुच्चोक गाविस ४ र ५ तल्लो भेगमा करीब १५० परिवारको दलित, जनजाति लगायत मिश्रित समुदायहरुको बस्ती छ । उनीहरु सबै परम्परागत खेतीमा मात्रै निर्भर भएकोमा हाल युवा, केटाकेटी र पाको उमेरका सबैजसो व्यवसायिक खेती तर्फ चासो देखाउन थालेको पाइन्छ ।
सिचाईको अभावले गर्दा नजिकैको पात्लेपानीबाट लिफ्ट प्रणालीबाट पानी ल्याउने योजना छ तर शुरु नभएकोले असजिलो परेको अवस्था छ । उनीहरुको यस प्रकारको योजनाले बस्तीभन्दा तल माथी पाखा तथा खेतमा अब व्यावसायिक खेती तथा पशुपालन गर्ने कार्यक्रम रहेको बताउँछन् ।
अजिरकोट कृषि फर्म र एच बि कृषि फर्म दर्ता गरि प्रक्रिया शुरु भएको उनिहरुको धारणा छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बीउ, रोगकिराको सहज निदान, गाउँसम्म केही सडकको पहुँचलगायत कारणले अब यस्तो कार्य गर्ने समस्या नहुने स्थानीय किसान होम बहादुर गुरुङ बताउछन् ।
सिचाइ मात्रै प्रशस्त भएमा उत्पादनमा समस्या छैन तर बजारको भने थोरै समस्या भएकोले सरकार लगायत सम्बन्धित पक्षले ध्यान दिए हुन्थ्यो भन्ने त्यहाँका किसानहरुको भनाइ छ ।
अहिले यहाँका सबैजसो किसानले वर्षे धान मात्रै नभएर हिउँदका सबै बाली छोडेर तरकारी र फलफूल, कफि, अलैैैंची आदि नगदे बाली लगाउने र परम्परागत अन्न बालिलाई पनि व्यावसायिक ढङ्गले लगाउने योजना गर्न थालेका बताउँछन् एच बि कृषि फर्म होम बहादुर गुरुङ ।
कुनै बेला यहाँका युवा घरायसी खर्च जुटाउनकै लागि विदेश जान्थे, काठमाडौ, पोखरा, चितवन जान्थे तर, हिजोआज त्यो बाध्यता छैन । ‘पहिला अहिलेजस्तो थिएन तरकारी लगाएर बेच्दा इज्जत जान्थ्यो’, स्थानीय बुद्धि बहादुर नेपालीले भने, पहिले बाहिर गएर आएकोलाई ईज्जत हुन्थ्यो तर अहिले संस्कार नै फेरिएको छ।’ अब करिब १ सय रोपनि जग्गामा अजिरकोट कृषि फर्म र ५० रोपनी जग्गामा एच बि कृषि फर्मले व्यवसाय संचालन गर्दैछन् ।
धेरै वर्ष काठमाडौमा रोजगारी तथा विभिन्न व्यवसाय गरि बिताएका अजिरकोट ५, मुच्चोकका बाबुराम देवकोटाले पनि अहिले जागरिलो युवा पाए व्यवसायीक कृषिकार्यका लागि मासिक तलब दिएर काम गर्ने बताउँछन् ।
एच बि कृषि फार्मका संचालक होम बहादुर गुरुङले पनि अहिले करिब १५/ २० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी सिजन अनुसारको लगाएका छन् । वर्षमा तीन सिजनको तरकारी फल्छ ।
एक दशक भन्दा अघिसम्म गाउँमा आम्दानीको कुनै स्रोत नदेखेर खाडी मुलुक पुगेका उनी बिदेशमा काम गरेर फर्के पछि विदेशको जस्तो दुःख म एउटाले यहि गर्ने र सबैको साथ पाउने हो भने यहाँका दर्जनभन्दा बढी युवालाई गाउँमा नै रोजगार दिन सक्छु तर साथ नपाएको बताउछन् ।
बेमौसममा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउछ । थोरै खेतमा तरकारी लगाउनेले पनि राम्रो आम्दानी गर्छ ।’
तरकारीमा आत्मनिर्भर भएको जिल्लाकै गाउँ बनाउने रहर होम बहादुर र उनकी श्रीमती बिमाया गुरुङ्को छ ।
मुच्चोक कुवा पानी अहिले पनि तरकारी खेतीमा पछि नै छ तर अधिक दु:ख गर्ने गाउँका रूपमा यसलाई चिनिएको छ र पनि दुख सहि ठाउँमा नहुदा परम्परागत ढंगले जीवन चलेको उक्त गाउँका स्थानीय युवा बाबुराम देवकोटा बताउछन् ।
अब समुहगत रुपमा चाक्लाबन्दी गरि व्यावसायिक तरिकाले खेती तथा पशुपालन गरिने र सिचाइको लागि पहल भैरहेको उनिहरुको भनाइ छ । अहिले त्यहाँका किसानहरु धान कोदो फल्ने खेत बारीमा कफि, अलैंची, तरकारी र उन्नत बोटविरुवा रोप्न व्यस्त देखिएको भेटिन्छ ।
व्यावसायिक खेतीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको थियो तर समुदायको एकल सोचाइ अनि परम्परागत शैली आदिका कारण जो हुन पर्ने भएको छैन ।
गाउँपालिकाको ५ नम्बर वडामा संचालित मेड नेपाल, स्वारा सघन, केेयर नेपाल आदि जस्ता गैरसरकारी संस्थाहरुले पनि गाउँपालिकाको सहकार्यमा चालू वर्षदेखि व्यावसायिक खेती तथा पशुपालन जस्ता कार्यमा कार्यक्रम ल्याएको र संघ र प्रदेश सरकारले पनि यसमा प्रोत्साहन दिएकोले पनि दूरदराजमा शुरुआत हुन लागेका यस्ता कार्यक्रमले थप उर्जा दिने देखिन्छ । हेरौं कार्यान्वयन पक्ष कस्तो होला ?