गोरखा- सिरानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ का लागि ६४ करोड २ लाख ३५ हजार आठ सय २८ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिकाको कार्यालयमा आइतबार भएको पाचौं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटाले ‘समृद्ध सिरानचोकको आधार, कृषि पर्यटन र पूर्वाधार’ भन्ने नारालाई आत्मसाथ गर्दै आगामी बर्षको बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेट अनुसार सिरानचोक गाउँपालिकाले चक्रपथ निर्माणको लागि नयाँ ट्रयाक निर्माण सम्पन्न गर्न ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । ऐतिहासिक, पुरातात्विक, धार्मिक, सिरानचोक कोटको परिसर निर्माण, राष्ट्रिय विभूति अमरसिंह थापा तथा नेपाल एकिकरणका योद्धा झागल गुरुङको सम्झनामा सालिक सहितको स्मारक उद्यान, भग्नावशेष सिरानचोक गढीको पुर्न निर्माण एवं संरक्षणका लागि एक करोड करोड ५५ लाख रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमको लागि एक करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीहरुलाई जनही पाचँ हजार पुरस्कार दिने र प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा सटपुट खेलमा कास्य पदक विजेता मञ्जु गुरुङलाई २० हजार रुपैयाँ पुरस्कार दिने गाउँपालिकाले जनाएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाका लागि एक करोड २० लाख , ‘एक वडा एक मुख्य उत्पादन’ कार्यक्रम गर्ने गरी कृषि क्षेत्रलाई जनताको समृद्धिसँग जोड्नको लागि ९५ लाख विनियोजन गरिएको छ । त्यसै गरी मासु जन्य वस्तुमा गाउँपालिका आत्मनिर्भर हुने कार्यक्रम सहित नामरुङ पशुपालन कार्यक्रम संचालन गर्नका लागि ८५ लाख रुपैयाँ ब्यवस्था गरिएको छ ।
गाउँपालिकाले एक घर, एक धारा कार्यक्रमका लागि ९० लाख रुपैयाँ र लैङ्गिक समानता तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, स्वरोजगार कार्यक्रम अन्तर्गत “मेरो सिप मेरो आम्दानी“ कार्यक्रम संचालन गर्न ४५ लाख रुपैयाँ, दिगो विकासको निम्ती विपद् तथा जलवायु उत्थानशिल कार्यक्रम संचालन गर्न ५५ लाख रुपैयाँ छुट्टाईएको छ ।
विपद्मा परेका ब्यक्ति तथा समुदायलाई आकस्मिक सहयोग गर्न २१ लाख रुपैयाँको आकस्मिक कोष खडा गरिएको छ । नागरिकहरुलाई न्यायमा पहुँच पु¥याउनको लागि विभिन्न कार्यक्रम सहित न्यायिक समितिले कार्यान्वयन गर्ने गरी २५ लाख रुपैयाँ विनियोजन भएको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड संचालन गर्न पनि गाउँपालिकाले आठ लाख रुपैयाँ छुट्टाएको छ । मेरो श्रम, हाम्रो विकास कार्यक्रम संचालन गर्नको लागि ११ लाख रुपैयाँ विनियोजन भएको छ ।