गाेरखा- धार्चे गाउँपालिकाको गुप्सीपाखामा गैह्र आवासिय नेपाली संघ (एनआरएनए) ले निर्माण गरिरहेको एकिकृत नमुना बस्तीमा शौचालय निर्माणको काम शूरु भएको छ ।
भुकम्प गएको ४ बर्ष बितिसक्दा पनि भुकम्प घर निर्माण सम्पन्न हुन नसकेको लाप्राकको नमुना बस्तीमा शौचालय निर्माणको काम शुरु भएको एनआरएनएले जनाएकाे छ ।
‘ढिलै भएपनि लाप्राक गुप्सीपाखाको नमूना वस्तीमा शौचालय बन्न शुरु भएको छ, ‘तीन सय घरमा सेफ्टि ट्याङ्ककीको ढलान भइसक्यो,’ सवइन्जिनियर डिल बहादुर गुरुङले भने, ‘२० वटामा एसी ब्लकको गारो लगाउने काम भइरहेको छ ।’
शौचालय निर्माणका लागी सम्बन्धित घरका दुइ जनाले श्रमदान गर्नुपर्ने प्रावधान बनाइएको छ । निर्माण सामग्री र अरु कामदार हामीले उपलब्ध गराएका छौ, स्थानीयमध्य जसको घर हो त्यो घरका दुई जनाले अनिवार्य श्रमदान गर्नुपर्ने छ । सरकारसँग समन्वय गरेर रिटर्निङ वाल लगाउने गुरुयोजना समेत रहेको इन्जिनियर गुरुङले बताए ।
लाप्राकका ५७३ भूकम्पपीडितका लागी एनआरएनएले गुप्सीपाखामा वस्ती निर्माण गरिरहेको छ । करिव १८.३ हेक्टर क्षेत्रफलको सार्वजनिक जग्गामा वस्ती निर्माण भइरहेको हो । योजनामा नरहेको भन्दै यस अघि गैरआवासिय संघ एनआरएनएले शौचालय निर्माण गर्न आनाकारी गर्दै आइरहेको थियो ।
चौतर्फी आलोचना र स्थानीयको असन्तुष्टी पश्चात शौचालय निर्माण काम थालिएको हो । एनआरएनएले लाप्राकको वस्ती हस्तान्तरण गर्ने भाका सार्दै आएको छ । यस अघि ३ पटक भुकम्प पिडितलाई नुमनाबस्ती हस्तान्तरण गर्ने बताएको एनआरएनएले पुनः आउदो असोज महिना भित्र हस्तान्तरण भइसक्ने दावी गरेको छ ।