साउदी– साउदी अरबस्थित नेपाली राजदूतावासले रोजगारीका लागि आउने नेपाली कामदारलाई प्रलोभनमा नपरी दोहोरो सम्झौता नगर्न सचेत गराएको छ ।
रियादस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न, दोहोरो सम्झौता नगरी सरकारको निर्णय बमोजिम तोकिएको सेवा, सुविधा र शर्तमा मात्र वैदेशिक रोजगारीका लागि साउदी आउन भनेको हो ।
पछिल्लो समय साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेको छ । नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने कामदारको जीविकोपार्जन थप खर्चिलो बन्दै गएका कारण सरकारले न्यूनतम मासिक पारिश्रमिक तोकेको छ ।
सरकारको निर्णय बमोजिम मागपत्र प्रमाणिकरण कार्य राजदूतावासबाट भइरहेको अवस्थामा नेपालका कतिपय म्यानपावर व्यवसायीहरुले गैरकानुनी रुपमा छुट्टै सम्झौता गरी कामदार पठाउने गरेका राजदूतावासले जनाएको छ ।
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र खाना सुविधा रकमभन्दा कम हुने गरी गैरकानूनी सम्झौता गरेर साउदी अरब पुगेका कामदार पहिलो दिनदेखि नै समस्यामा पर्ने गरेका छन् । उनीहरुको उद्वार तथा समस्या समाधान गर्न अत्यन्त कठिन हुने भएकाले पूर्ण सजगता अपनाउन आवश्यक रहेको दूतावासले जनाएको छ ।
नेपाल सरकारको २०७५ असोज १९ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी जाने नेपाली नागरिकका लागि कामको प्रकृति अनुसार न्यूनतम पारिश्रमिक तोकिएको छ ।
रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खानाका लागि साउदी रियाल ३ सय हुनुपर्ने निर्णय गरेको छ ।
राजदूतावासले जारी गरेकाे सूचना