गाेरखा- धार्चे गाउँपालिका ३ खोर्लाबेसीमा खाल्डोमा पुरेर लुकाइराखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ। पक्राउ पर्नेमा गोरखाका धनकमल गुरुङ छन् । प्रहरी स्रोतका अनुसार बरामद भएको सुन चीनबाट तस्करी गरेर ल्याइएको हो ।
गुरुङ खच्चड व्यवसायी हुन् । अनुसन्धान गर्दै जाँदा उनले नै लुकाएर राखेको १६ किलो सुन फेला पार्न प्रहरी सफल भएको प्रहरीले जनाएकाे छ । काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमले ओढारमा सुन लुकाएको ठाउँ देखाएका थिए । ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा उनलाइ लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।
उनले नै प्रहरीलाई लुकाएको सुनको बारेमा बताएपछि प्रहरीले घटनास्थलमा पुगी सुन बरामद गरेको हो। सुन १६ पिस भएको प्रहरीले पुष्टि गरेको छ। सोही आधारमा सुन १६ किलो नै हुनसक्ने प्रहरीले अनुमान लगाएकाे छ।
अहिले धनकुमारलाई गोरखा लगिँदै छ भने प्रहरीले बरामद सुन आफ्नो नियन्त्रणमा लिइसकेको छ। उक्त सुन गोरखाको उत्तरी सीमा धार्चे गाउँपालिको माछाखोलातर्फ आउँदै गरेको प्रहरी स्रोतको भनाइ छ।