काठमाडौं- नेपाली कांग्रेसले बूढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माणका लागि मुआब्जा वितरणको कार्य रोकिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार केन्द्रीय समितिको बैठकमा ध्यानाकर्षण भएको प्रस्ताव पारित गर्दै उसले तत्काल काम सुचारू गर्न सरकारसमक्ष आग्रह गरेको छ।
‘डुबानमा पर्ने गोरखा र धादिङ जिल्लाका धेरै गाउँपालिकाका जग्गाको मुआब्जा वितरण भैसकेको तर दुवै जिल्लाका आरुघाटबजार, खहरेबजार र आरखेत बजार क्षेत्रको घरजग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य संघीय सरकारको ठाडो आदेशद्वारा एकाएक रोक्का गरिएको सम्बन्धमा ध्यान आकर्षण भएको छ,’ कांग्रेसको निर्णय छ।
सो परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारहरुको घरजग्गा ४/५ वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएको छ।
यसबाट सो क्षेत्रका बासिन्दा, व्यापारी, उद्योगपति एवं नागरिकहरुलाई साहै्र मर्का परिरहेको भन्दै उसले सो कार्य नरोक्न आग्रह गरेको हो।
ती क्षेत्रका ‘बजारक्षेत्रमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्व वितरण गर्न यस बैठकले माग गर्ने निर्णय गर्दछ,’ कांग्रेस केन्द्रीय समिति बैठकपछि सार्वजनिक निर्णयमा उल्लेख छ।