काठमाडौं उपत्यकाको भू-सतहबारे सन् २०१४ देखि थालिएको अध्ययनमा संलग्न भूगर्भविद् एवं त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका प्रमुख डा. अनन्तराज गजुरेल भन्छन्, ‘काठमाडौंको जमिन धसिने क्रम रोक्न पानी रिचार्ज बढाउनुपर्छ।’ यस विषयमा उनलाई आजको हिमाल साप्ताहिकले पाँच प्रश्न गरेको छ :
काठमाडौं उपत्यकाको भूसतहसम्बन्धी अध्ययनबाट के निष्कर्ष आयो ?
काठमाडौंको भू-सतह बिस्तारै धसिँदै गएको छ। हामीले उपत्यकामा विभिन्न ठाउँमा गरेको अध्ययनबाट यहाँको भू-सतह प्रतिवर्ष ३ देखि १६ सेन्टिमिटरसम्म धसिँदै गएको देखियो। जमिन धसिने दर ठाउँअनुसार फरक फरक छ। जस्तो कि, छाउनीमा प्रतिवर्ष १३ सेन्टिमिटर र लाजिम्पाटमा १६ सेन्टिमिटर धसिएको पाइयो।
भू-सतह धसिँदै जाँदा के असर पर्छ ?
यो क्रमले जमिनको सतहमुनि पानी जम्मा गर्ने बलौटे पत्रको क्षमता ह्रास हुँदै जान्छ। फलस्वरूप घरहरू चर्किने, कोल्टिनेजस्ता समस्या देखिन सक्छन्। लामो क्षेत्रमा धसिएकाले यसको असर अहिले सतमा नदेखिएको हो।
यो अध्ययन कति समय लगाएर गर्नुभयो ?
हामीले सन् २०१४ बाट अध्ययन सुरु गरेका हौं। जमिन उठेको, धसिएको, दायाँ बायाँ सरेको बारेमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत अध्ययन गरेका थियौँ।
जमिन धसिनाका कारण के हुन सक्छन् ?
कारण यही हो भनेर ठोकुवा गर्न कठिन छ। पृथ्वीको हलचलका कारण सतह धसिएको देखिएन। जमिनमुनिको पानी धेरै निकालिनु एउटा कारण हुन सक्छ।
धसिने क्रम रोक्ने उपाय छ कि ?
काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको अनुगमन गर्न जरुरी छ। पानी रिचार्ज हुने ठाउँहरू पर्याप्त बढाउनुपर्छ।